| सोमवार, कार्तिक २३, २०८३

प्रदेशको अनुदानले उपभोक्ता लाभान्वित होउन्

गण्डकी प्रदेश सरकारले गतबर्षको नीति तथा कार्यक्रममा लिफ्टिङ खानेपानी आयोजनाहरुलाई विद्युत महशुलमा अनुदान दिने घोषणा गरेको थियो । सोही लिफ्ट खानेपानीमा अनुदान कार्यक्रमअन्तरगत गत आर्थिक बर्ष गोरखाका ५८ वटा लिफ्टिङ खानेपानी आयोजनाले अनुदान पाए ।

सबैलाई गरी प्रदेश सरकारले करिब ५९ लाख रुपैयाँ प्रदान गरेको छ । विद्युत महशुल तिर्न भनेर प्रदेश सरकारले उपभोक्ता समितिहरुलाई सो रकम दिने निर्णय गरेको हो । तर सो रकम कतिपय समितिले उपभोक्तालाई राहत हुने कार्यक्रममा खर्च गरेका छन्, भने कतिपय समितिले आफ्नै कोषमा राखेका छन् । कतिपय समितिले भने कस्तो कार्यक्रममा खर्च गर्ने भन्ने अहिलेसम्म अन्यौल रहेको जनाएका छन् ।

गोरखा सदरमुकामस्थित पृथ्वी नारायण साना सहरी खानेपानी तथा उपभोक्ता संस्थाले नौलाख ७१ हजार रुपैयाँ प्राप्त ग¥यो । सो अनुदान पाएवापत संस्थाले आफ्ना १२०० भन्दा धेरै उपभोक्तालाई एकबर्षसम्म महशुलमा ५० रुपैयाँ छुट दिएको छ । यो निर्णयले उपभोक्ताहरु सिधै लाभान्वित हुने भएका छन् ।

त्यस्तै सोही कार्यक्रमवापत गोरखा नगरपालिका ५ र ७ मा सञ्चालित कर्णेखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दुई लाख १७ हजार रुपैयाँ पाएको छ । सो रकममा ३४ हजार थप गरी समितिले उपभोक्ताहरुलाई दुई महिनाको महशुल मिनाहा गरेको जनाएको छ ।

तर एक लाख ४८ हजार रुपैयाँ अनुदान पाएको गोरखा नगरपालिका ६ हटियाथोक पोखराथोक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सो रकम कसरी खर्च गर्ने भनेर निर्णय गरिसकेको छैन । यत्तिका महिनासम्म सो रकम कसरी खर्च गर्ने भनेर निर्णय गर्न सकेको छैन । त्यस्तै प्रदेश सरकारबाट ८० हजार रुपैयाँ अनुदान पाएको गोरखा नगरपालिका ८ को खोलखोले तारेभिर आयोजनाले कति रकम प्राप्त भएको छ भन्ने बारे जानकारीसम्म नभएको जनाएको छ ।

यी त प्रतिनिधि समिति मात्र हुन् । यस्ता समिति जिल्लाभर बग्रेल्ती छन् । लिफ्टिङ प्रणालीका कारण उपभोक्ताले धेरै महशुल तिर्नुपर्ने भएकाले सरकारले उपभोक्तालाई राहत दिन सो रकम प्रदान गरेको हो । तर अनुदान पाएका कतिपय समितिले उपभोक्तालाई राहत हुने खालका कार्यक्रममा खर्च नगरी आफूखुशी गरेको पाइएको छ । यस्तो नभै उपभोक्ताहरु प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम गरुन् ।

प्रतिक्रिया दिनुहोस्