
लिफ्ट खानेपानी आयोजनाले पाएको अनुदान : कसैले उपभोक्तालाई राहत दिए, कसैले समितिमै राखे
गण्डकी प्रदेश सरकारको लिफ्ट खानेपानीमा अनुदान कार्यक्रमअन्तरगत गोरखा सदरमुकामस्थित पृथ्वी नारायण साना सहरी खानेपानी तथा उपभोक्ता संस्थाले नौलाख ७१ हजार रुपैयाँ प्राप्त ग¥यो । सो अनुदान पाएवापत संस्थाले आफ्ना १२०० भन्दा धेरै उपभोक्तालाई एकबर्षसम्म महशुलमा ५० रुपैयाँ छुट दिएको छ ।
त्यस्तै सोही कार्यक्रमवापत गोरखा नगरपालिका ५ र ७ मा सञ्चालित कर्णेखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दुई लाख १७ हजार रुपैयाँ पाएको छ । सो रकममा ३४ हजार थप गरी समितिले उपभोक्ताहरुलाई दुई महिनाको महशुल मिनाहा गरेको जनाएको छ ।
प्रदेश सरकारको अनुदान रकम जिल्लाका ५८ वटा समितिले पाएका छन् । सबैलाई गरी प्रदेश सरकारले करिब ५९ लाख रुपैयाँ प्रदान गरेको छ । सो रकम कतिपय समितिले उपभोक्तालाई राहत हुने कार्यक्रममा खर्च गरेका छन् भने कतिपय समितिले आफ्नै कोषमा राखेका छन् । कस्तो कार्यक्रममा खर्च गर्ने भन्ने अहिलेसम्म अन्यौल रहेको ती समितिहरुले जनाएका छन् ।
एक लाख ४८ हजार रुपैयाँ अनुदान पाएको गोरखा नगरपालिका ६ हटियाथोक पोखराथोक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सो रकम कसरी खर्च गर्ने भनेर निर्णय गरिनसकेको जनाएको छ । ‘त्यो रकम कसरी खर्च गर्ने भनेर सल्लाह गर्न हामी अहिलेसम्म बैठक नै बसेका छैनौँ’, समितिका अध्यक्ष सोमबहादुर अछामीले भने, ‘कसरी खर्च गर्ने भन्ने निर्णय गर्न बाँकी नै छ ।’ संस्थाले साधारण सभा नै नगरेको उनको भनाइ छ ।
त्यस्तै प्रदेश सरकारबाट ८० हजार रुपैयाँ अनुदान पाएको गोरखा नगरपालिका ८ को खोलखोले तारेभिर आयोजनाले कति रकम प्राप्त भएको छ भन्ने बारे जानकारी नै नभएको जनाएको छ । ‘खै खातामा कति रकम आएको छ, थाहा छैन, हेर्नुपर्छ’, समितिका रामशरण खत्रीले भने, ‘कसरी खर्च गर्ने भन्ने सल्लाह भएको छैन ।’
लिफ्टिङ खानेपानी आयोजनाका उपभोक्ताले धेरै महशुल तिर्नुपर्ने भएकाले सरकारले उपभोक्तालाई राहत दिन सो रकम प्रदान गरेको हो । तर अनुदान पाएका कतिपय समितिले उपभोक्तालाई राहत हुने खालका कार्यक्रममा खर्च नगरी आफूखुशी गरेको पाइएको छ ।
गोरखा नगरपालिकाभित्रका लिफ्टिङ खानेपानी आयोजनाहरुले बिद्युत महशुलमा २० लाख बढी अनुदान रकम पाएका छन् । गण्डकी प्रदेश सरकारको लिफ्ट खानेपानी र सिंचाईमा शत प्रतिशत अनुदान कार्यक्रम अन्तरगत रकम वितरण गरिएको हो । गत आर्थिक बर्ष २०७९÷८० मा नगरक्षेत्रका कुल १७ लिफ्टिङ आयोजनालाई २० लाख ९८ हजार अनुदान रकम वितरण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले जनाएको छ ।
अनुदान पाउने नगरक्षेत्रका १७ आयोजनामध्ये १३ वटाले महशुलमा शत प्रतिशत अनुदान रकम पाएका छन् भने बाँकीले २५ देखि ७५ प्रतिशतसम्म पाएका छन् ।
अनुदान रकम वितरणका लागी प्रदेश सरकारले बनाएको मापदण्ड अनुसार मासिक १५ हजारसम्म बिद्युत महशुल तिर्ने आयोजनाले महशुलमा शत प्रतिशत अनुदान रकम पाउने व्यवस्था छ । त्यस्तै १५–३० हजारसम्म महशुल तिर्नेले ७५ प्रतिशत अनुदान, ३०–६० हजारसम्म महशुल तिर्नेले ५० प्रतिशत र ६० हजारभन्दा बढी महशुल तिर्ने आयोजनाले २५ प्रतिशत अनुदान पाउने प्रावधान रहेको छ ।
जस अन्तरगत गत आव गोरखा नगरपालिका वडा नम्वर १ को बाह्रबिसे ताप्ले लिफ्टिङ खानेपानी आयोजनाले ७९ हजार, वडा नम्वर २ को अधेरीखोलाले २० हजार र अधेरीखोला जुडीखोलाले ९५ हजार अनुदान रकम पाएका छन् । त्यस्तै वडा नम्वर ६ स्थित पृथ्वी नारायण साना सहरी खानेपानी आयोजनाले ९ लाख ७१ हजार, हटियाथोक पोखराथोक खानेपानीले तीनधारे खानेपानीले ७६ हजार, कर्णेखोलाले दुई लाख १७ हजार अनुदान रकम पाएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार वडा नम्वर ८ स्थित अर्यालगाउँ खानेपानीले ७ हजार, कट्टेलडाँडा खानेपानीले ३ हजार, चिसापानी आमडाँडा खानेपानीले २१ हजार, जुगेपानी आहालेभन्ज्याङ खानेपानीले एक लाख ३ हजार, थाकलडाँडा आयोजनाले ४५ हजार, भुवानीखोला आँपस्वाँरा खानेपानीले आठ हजार र सिद्ध वागेश्वरी खानेपानीले एक लाख ९४ हजार अनुदान रकम पाएका छन् । त्यस्तै वडा नम्वर ९ को सिर्दि दलभन्ज्याङ खानेपानीले १२ हजार, वडा नम्वर १३ को मनमस्था हटिया खानेपानीले ११ हजार अनुदान रकम पाएका छन् ।




