| सोमवार, कार्तिक २३, २०८३

गोरखाली सम्पदाले गोरखाकै शोभा दिओस्

धर्म, संस्कार, संस्कृति, इतिहास न कसैले रचेर रचिने, न कसैले मेटेर मेटिने कुरा हो, त्यसैले यी धर्म, संस्कार, संस्कृति, इतिहासलाई पहिचानसंग जोडेर हेर्ने गरिन्छ । पहिचान कति प्यारो, कति महत्वपूर्ण, कति अभेद्य, कति सापेक्ष हुन्छ भन्ने कुरा १ नंबर प्रदेशको नामाकरणका बिषयमा भएको आन्दोलन हेर्दा हुन्छ ।

आफ्नो अस्तित्वसंग जोडिने धर्म, संस्कार, संस्कृति र इतिहास(पहिचान) लाई प्राण जत्तिकै प्यारो ठान्ने गरिन्छ । पहिचान जोगाउन आफ्नो जीवनलाई बलीदिन तयार भएका कैयाँ घटना जगजाहेर छन् ।

जो कोहीले आफ्नो पहिचानलाई आफ्नो अस्मितासंग जोडेर हेर्छन्, अस्मिता जोगाउनका लागि ‘स्वेच्छिक सहादत’ पाएका कैयौँ घटना छन् । पहिचान मेटिनुलाई आफ्नो जीवन, आफ्नो सभ्यता मेटिएको ठान्ने गरिन्छ । केही बर्षअघि भएका गौर घटना, टिकापुर घटना इत्यादि यसैसंग जोडिएका घटना हुन् ।

केही दिनअघि गोरखा सतिपिपलको एक शाही परिबारमा भेटिएको रत्नपत्थर अहिले चर्चामा छ । हालै खानी तथा भूगर्भ विभागले हिराकै नजिकको स्तरको ‘क्वार्ज क्रिस्टल’ पहिचान गरेको सो रत्नपत्थरलाई गोरखाबाट लगेर विभागमा राख्न सुझाव दिएको छ । तर यो गोरखाको ऐतिहासिक, धार्मिक सम्पदा भएकाले यसलाई गोरखाबाट किमार्थ अन्यत्र लैजान दिनुहुन्न भनेर व्यक्तिगत, संस्थागत आवाज बुलन्द भएको छ ।

नेपाल एकीकरण अभियानमा साथमा लिएर हिँडेको सो शक्तिदाता पत्थरलाई राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले गोरखा लगेर सुरक्षित राख्न बाघवीर शाही र गणेशमान शाहीलाई सुम्पिएको किंवदन्ती छ । गोरखाको गौरवमय इतिहास बोकेको सो पत्थर भौतिक दृष्टिकोणले बहुमूल्य होला, तर ऐतिहासिक, धार्मिक, सांस्कृतिक दृष्टिकोणले यो अमूल्य छ ।

शाही परिबारले वस्त्रच्छेदन नगरी विधिसम्मत रुपमा पूजाआजा गरेर राखेको सो रत्नपत्थरलाई जिल्लाबाट बाहिर पठाएपछि गोरखासित यसको साइनो समाप्त हुने र नयाँ स्थानमा यसको महत्व आर्थिक रुपमा मात्र गाँसिने हुँदा यसको धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्व जोगाइराख्न यसलाई जिल्लामै राख्नुपर्छ ।

संग्रहालयमा हुनसक्छ, गोरखा दरबारमा हुनसक्छ, बलियो सुरक्षा प्रवन्ध मिलाई गोरखामै राख्ने र यसलाई सशुल्क हेर्न मिल्ने व्यवस्था मिलाए यसको महत्व पनि कायम रहने, गोरखाको गौरव पनि जोगिनेछ । यसका लागि विशेषगरी गोरखा नगरपालिका मात्र दृढ इच्छाशक्तिका साथ लागि पर्नुपर्छ सम्भव हुन्छ ।

प्रतिक्रिया दिनुहोस्