| सोमवार, कार्तिक २३, २०८३

धार्चेको आलुलाई ब्राण्डिङ गर

विश्वमा जसले जे काम गरेको भए पनि खानु अनिवार्य छ । खानेकुरा उत्पादन गर्ने किसानले हो । बाँच्नका लागि पनि कम्तीमा खाना खानुपर्छ ।

त्यसैले खाद्यवाली उत्पादन गर्ने काम अरु सबैभन्दा महत्वपूर्ण छ । यतिबिघ्न महत्वपूर्ण भूमिकामा रहेका किसानलाई प्रोत्साहित गर्नु सरकारको कर्तव्य हो ।

अहिले केन्द्र सरकार, प्रदेश र स्थानीय सरकार सबैले उत्पादनलाई जोड दिने नीति तथा कार्यक्रम घोषणा गरेको देखिन्छ, तर व्यवहारतः उत्पादनलाई जोड दिएको, किसानलाई प्रोत्साहित गरेको देखिदैन । बरु किसानको नामधारी व्यवसायीलाई अनुदान दिने, कर्जा दिने जस्ता सुविधा दिइरहेको देखिन्छ ।

नारामा झैँ किसानी गर्ने बास्तविक किसानलाई हौसला बढाउने, प्रोत्साहित गर्ने, पुरस्कृत गर्ने, उनीहरुले भोगिरहेको बजार व्यबस्थाको अभाव सल्ट्याइदिने, व्यवसाय थप गर्न कर्जाका लागि सहज बनाइदिने, दर्ता तर कर तिर्ने प्रक्रियालाई अति सुलभ र सरल बनाइदिने गर्नुपर्छ ।

अहिले अरु पालिकामा कुनै खास खेती भनेर गरिएको छैन । सबैतिर सबै खालका छ्यासमिसे खेती गरिएको छ । तर धार्चेमा भने आलु खेती विशेष रुपमा गरिन्छ । धार्चेको गुम्दालाई आलुको राजधानी भन्ने पनि गरिन्छ । लाप्राकमा पनि उत्तिकै आलुखेती गरिन्छ । यतिबेला त्यहाँका बारीका पाटा सबैतिर आलु नै आलु खेती गरिन्छ । यो सिजनमा त्यहाँ अत्याधिक आलु उत्पादन हुन्छ । त्यसैले आउँदो भदौमा त्यहाँ आलु मेला आयोजना गर्न लागिएको छ । त्यहाँको आलुको प्रचारप्रसार गर्ने र बजार व्यवस्था सहज गराउने उद्देश्यले बर्षेनी यो सिजनमा आलुमेला गर्ने गरिन्छ ।

कृषि ज्ञानकेन्द्रले यस क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरी सहायता दिने, त्यहाँको आलुलाई ब्राण्डिङ गरी किसानहरुलाई प्रोत्साहित गर्ने र आलुको बजार व्यवस्था गर्न सहयोग गरे धेरै राम्रो हुने थियो । त्यस्तै पालिका सरकारले पनि ती क्षेत्रमा स्थानीय जातको आलु उत्पादनमा अझै जोड दिने र बजार व्यवस्थाका लागि विशेष पहल कदमी लिए कति धेरै राम्रो हुनेथियो ।

प्रतिक्रिया दिनुहोस्