
गाउँ छाड्ने क्रम रोकौँ
पूर्वाधार विकासको अभाव नै केही बर्षअघिसम्म गाउँको सबैभन्दा ठूलो समस्या थियो । समय बदलिएसंगै अहिले गाउँघरको समस्या पनि बदलिएको छ ।
अहिले गाउँमा सडक पुगेको छ । कतिपयमा कालोपत्रे, कतिपयमा हिउँद, बर्खै चल्ने ग्राभेल सडक र कतिपयमा ट्रयाक मात्र खोलिएको भने पनि प्राय सबै गाउँमा सडक पुगेको छ । विद्युत छ, शुद्ध खानेपानीको सुविधा छ । भौतिक सुविधासम्पन्न विद्यालय, स्वास्थ्यचौकी छ । इन्टरनेट सुविधा पनि छ । तर समस्या यो छ कि, गाउँमा मान्छे बस्न छाडे ।
अस्थायी तथा स्थायी बसाइँसराइको ठूलो चपेटामा गाउँ परेको छ ।
सुविधा गाउँ पुग्यो, गाउँचाहिँ मान्छेले छाडे । सुविधाले पनि मान्छेलाई रोक्न सकेको छैन । गाउँ रित्तिँदै गएपछि पीडित बनेकाहरु भन्छन्, ‘जब श्रीमानलाई विदेशको भिसा लाग्छ, तब श्रीमतीलाई बजारको भिसा लाग्छ ।’ यसको अर्थ स्पष्ट छ, दुईचार पैसा कमाउन सक्ने भएपछि सबैले गाउँ छाड्छन् । पहिले बच्चा पढाउने नाउँमा अस्थायी रुपमा गाउँ छाड्छन् । जब उनीहरु क्याम्पस पढ्ने तहमा पुग्छन्, तब सन्तान विदेश पठाउने नाउँमा र विदेशमा कमाउने भएपछि स्थायी रुपमा गाउँ छाड्छन् ।
यसरी गाउँघर रित्तिदै छ । यो क्रमलाई रोक्ने पहिलो जिम्मेवारी स्थानीय सरकारको हो । गाउँबासीहरु बाहिरिएपछि गाउँपालि कसका लागि ? गाउँपालिको विकास बजेट तथा कार्यक्रम कसका लागि ? त्यसैले यो बिकराल अबस्था रोक्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर अबका दिनमा पालिकाले बजेट तथा कार्यक्रम बनाउनु पर्छ । गाउँसभा, नगरसभाबाट पारित गर्ने बजेट तथा कार्यक्रम पनि गाउँबस्तीमा मान्छे टिकाउने खालको हुनुपर्छ ।
गाउँ रित्तिदै गएको एउटा ज्वलन्त नमूना सिरानचोक २ को पाम गाउँ हो । त्यहाँ अहिले बालबालिका छैनन् । प्रौढ उमेरका मान्छे मात्र त्यहाँ बसोबास गर्छन् । यस्तो अबस्था पाममा भन्दा धेरै अरु गाउँमा पनि छन् । त्यसैले गाउँ छाड्ने क्रम रोक्ने खालको कार्यक्रम बनाएर लागु गर्नु अहिलेको सबैभन्दा महत्वपूर्ण कार्यभार हो ।




