
वार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ्य परीक्षण
गोरखा नगरपालिका–७ नयाँबजारमा रहेको अर्याल मेडिकल हलले बिरामीहरुको निशुल्क स्वास्थ्य जाँच गरेको छ ।
संस्थाको ३३ औँ वार्षिक उत्सवको अवसरमा शनिबार र आइतबार बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । शनिवार ५५ जनाको निशुल्क मुटु परिक्षण भएको मेडिकलका संचालक बिनोद अर्यालले बताए । मुटुरोग विशेषज्ञ डा.पुरन गुरुङले मुटु परीक्षण गरेका थिए ।
बार्षिक उत्सवकै अवसरमा संस्थाले रगत, पिसाव, भिडियो एक्स–रे लगायतका सेवामा लाग्ने शुल्कमा २० प्रतिशत छुट दिएको थियो । आइतबार जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा रहेका ६५ जना जेष्ठ नागरिकहरुको निशुल्क सुगर जाँच तथा औषधी वितरण गरिएको अर्यालले बताए ।
बार्षिक उत्सवको अवसरमा मेडिकलको फार्मेसीमा कार्यरत रक्षा बयलकोटी सम्मानित समेत भएकी छन् ।




