
जुवालाई मुख्य पेशा बनाउनेहरुलाई निगरानी गर
नशा लागेपछि छाड्न कठिन हुन्छ । चाहे त्यो मादक पदार्थको नशा होवस वा जुवातासको, चाहे माया प्रेमको नशा होवस् वा सूर्तिजन्य पदार्थको नशा, लागेपछि छाड्न कठिन हुन्छ । उनीहरुका लागि नशा नै सबैथोक हुन्छ । त्यो भन्दा बाहिरका कुरालाई गणनै गर्दैनन् । नशा छाड्न कसैले अर्ति उपदेश दिएमा त्यसलाई गाली सरह सम्झन्छन् ।
यस्तै जुवाको लत बसेका र जुवालाई मुख्य पेशा बनाउनेहरु गोरखा बजारमा धेरै संख्यामा छन् । एकै ठाउँमा नियमित रुपमा खेल्दा असुरक्षित हुने भएकाले उनीहरु मोबाइल टिम बनाएर कहिले जिल्लाभित्र, कहिले बाहिर खेल्न जान्छन् । यस्ता बाह्रमासे जुवा खेल्नेहरुलाई नगरबासी प्रायले चिन्छन् । तर मित्रवत भावनाले कुरा मन–मनमा राख्छन्, सुराकी गर्दैनन् ।
यति गर्दा पनि बाह्रमासे जुवाडेहरुलाई प्रहरीले बेला बेला पक्राउ गरिरहन्छन् ।
जुवा खेलेबापत के कारबाही हुन्छ भन्ने बारे बर्षौँदेखि जानकार रहेका उनीहरुलाई यसबारे अभ्यास भइसकेको छ । त्यसैले जति पटक पक्राउ परे पनि, जति पटक कारबाहीमा परे पनि त्यसलाई सहज रुपमा पचाएर फेरि खेलकुदलाई निरन्तरता दिने गरेको पाइन्छ ।
गोरखाका जुवाडेका मोबाइल टिम गाडी रिजर्भ लिएर कहिले चितवन, कहिले लम्जुङ, हेटौडा आदि ठाउँसम्म जुवा खेल्न पुग्ने गरेका हुन्छन् ।
तिनै मोबाइल टिममध्ये केहीलाई लम्जुङको प्रहरीले पक्राउ गरेको छ । गोरखाबाट लम्जुङ जुवा खेल्न पुगेका पाँचजना जुवाडेहरु लमजुङबाट पक्राउ परेका हुन् । जुवा खेलल्कै लागि गाडी लिएर लम्जुङको घनपोखरा पुगेका गोरखाका पाँच र लम्जुङका १७ जना गरी २२ जना मस्र्याङदी गाउँपालिका–९ घनपोखरास्थित स्थानीय धनबहादुर तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका थिए ।
उनीहरुलाई प्रहरीले मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको छ । पटक पटक पक्राउ पर्दा धनको नाश, इज्जतको नाश, जहान परिवारलाई तनाव आदि विभिन्न कुराले बेफाइदा हुने हुँदा जुवातासको लत तत्काल छाड ।




