
गोरखामा लम्पी स्कीन नियन्त्रणका लागि विभिन्न पालिकाको फरक–फरक अभ्यास
केशव गुरुङ :
देशभर फैलिएको लम्पी स्कीन रोगको महामारीबाट गोरखा जिल्ला पनि प्रताडित छ । लम्पी स्कीनका कारण जिल्लामा हालसम्म ५ सय भन्दा बढी पशुचौपाय मरिसकेका छन् । करिब १८ सय पशुचौपाया संक्रमित छन् । रोग नियन्त्रणका लागि केही प्रयासहरु भइरहेको जिल्लाका स्थानीय तहहरुले बताएका छन् ।
पालुङटार नगरपालिकाकाले लम्पिस्किन नियन्त्रणका लागि बजेट विनियोजन गरेर औषधी खरिद गरिएको र खोप खरिद प्रक्रियामा रहेको जनाएको छ । रोग नियन्त्रणका लागि औषधी खरिद गर्न नगरपालिकाले चालु आर्थिक बर्ष विपद व्यवस्थापन कोषबाट ६ लाख र खोप खरिदका लागि दशलाख रकम विनियोजन गरेको पालिकाका पशु चिकित्सक सुरज मरहट्टाले बताए । ‘भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट सात सय खोप प्राप्त भएको थियो,’ उनले भने, ‘त्यसमध्ये च्याङलीमा रहेको गाइगोरुलाई तीन सय खोप लगायौ ।’ बाँकी दुईसय खोप खरिद प्रक्रिया अघि बढेको उनले बताए ।
गोरखा नगरपालिकाभित्रका पशुहरुमा पनि धमाधम खोप लगाउने कार्यक्रम भइरहेको नगरपालिका पशु शाखा प्रमुख टंककुमारी पुर्जाले बताइन् । यो वर्ष नगरपालिकाको विपद कोषबाट लम्पी स्कीन रोग नियन्त्रणका लागि खोप र औषधी खरिद गर्न २० लाख विनियोजन भएको उनले जानकारी दिइन् । पहिलो चरणमा ५ लाख बजेटले ३ हजार खोप ल्याएकोमा २६ सय खोप लगाइसकेको र बाँकी ४ सय खोप लगाउने काम भइरहेको उनले बताइन् । नगरपालिकाले अघिल्लो वर्ष खरिद गरेको १८ सय ७६ डोज खोप र भेटेरिनरी अस्पतालबाट प्राप्त सातसय खोप सबै लगाइसकेको उनले जानकारी दिइन् ।
आरुघाट गाउँपालिकाले खोप खरिद गर्नका लागि चालु वर्ष ५ लाख रुपैया विनियोजन गरेको जनाएको छ । खोप खरिद प्रक्रिया अघि बढिसकेको पालिका पशु स्वास्थ्य शाखा प्रमुख इन्द्रहरी खनालले बताए । भेटेरिनरी अस्पतालबाट प्राप्त भएको ५ सय खोप लगाउन सुरु गरिएको उनले जानकारी दिए । अघिल्लो वर्षको आकस्मिक रोग नियन्त्रण र विपद कोषमा राखिएको रकमबाट औषधी खरिद गरी वितरण गर्ने कार्य भइरहेको उनले बताए । लम्पी स्कीनका कारण क्षति पुगेका कृषकलाई राहत वितरणका लागी आठ लाख रकम छुट्याइएको तर वितरण गर्ने कार्यविधि बन्न बाँकी रहेको बताइएको छ । कार्यविधि बनाएर यथाशिघ्र राहत वितरण कार्य अघि बढाइने उनले जानकारी दिए ।
अजिरकोट गाउँपालिकाका पशु विकास अधिकृत डा. अनुप श्रेष्ठका अनुसार पालिकाले चालु वर्ष खोप र औषधी खरिदका लागी चार लाख रुपैया विनियोजन गरेको छ । पालिकाले यस अघि नै २ सय २५ डोज खोप खरिद गरेर लगाइसकेको उनले जानकारी गराए । भेटेरिनरी अस्पतालबाट प्राप्त भएको ५ सय डोज खोप स्टक रहेको र अव लगाउन सुरु गरिने उनले बताए ।
सिरानचोक गाउँपालिकाले आफैले १३ सय खोप खरिद गरेर पशुचौपायामा लगाएको छ । गाउँपालिका पशु सेवा शाखा प्रमुख युवराज न्यौपानेका अनुसार पालिकाले आव २०७९÷०८० मा ३ लाख ४५ हजार बजेट बिनियोजन गरेर १३ सय खोप खरिद गरि जेठ देखि असार महिनामा खोप लगाएको थियो । भेटेरिनरी अस्पतालबाट प्राप्त ५ सय खोप र औषधी स्टक रहेको बताउँदै न्यौपानेले आवश्यकताको पहिचान गरी खोप लगाउने कार्य गरिने जानकारी दिए । उनका अनुसार पालिकाले चालु वर्ष औषधी खरिदका लागि सात लाख र आकस्मिक रोग नियन्त्रण गर्न ३ लाख रकम छुटाएको छ । लम्पी स्कीन रोग नियन्त्रणका लागि संघीय सरकारबाट पनि एक लाख रकम प्राप्त भएको बताइएको छ ।
गण्डकी गाउँपालिका पशुसेवा शाखा प्रमुख मिलन कुमार महतका अनुसार पालिकामा लम्पी स्कीन रोग विरुद्धको खोप लगाउने कार्य चलिरहेको छ । भेटेरिनरी अस्पतालबाट पठाएको ५ सय डोज खोप बिभिन्न वडाका पशुचौपायमा लगाउने कार्य जारी रहेको उनले बताए । हाल सम्म तीन सय बढी पशुचौपायामा खोप लगाइसकेको उनले जानकारी दिए । रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी खरिद गरेर लगाउने काम पनि भइरहेको पालिकाले जनाएको छ । रोग नियन्त्रणका लागि संघबाट एक लाख रकम प्राप्त भएको र पालिकाले चालु वर्ष खोप र औषधी खदिरका लागि ५ लाख रकम छुट्याएको बताइएको छ ।
भेटेरिनरी अस्पतालबाट प्राप्त ५ सय डोज खोप लगाउने कार्य भइरहेको शहिदलखन गाउँपालिकाले जनाएको छ । लगाइरहेको छ । वडामा रहेको प्राविधिकले किसानको घरघरमा गएर सेवा दिइरहेको पालिकाका कृषि तथा पशु विकास शाखा प्रमुख ऋषि रोकाले बताए । यो वर्ष खोप खरिदका लागि बजेट विनियोजन नगरिएको उनले बताए । औषधी खरिदका लागि भने पालिकाले ९ लाख रुपैया विनियोजन उनले जानकारी दिए ।
बारपाकसुलिकोट गाउँपालिकाले चालु बर्ष औषधी, खोप र शिविर संचालनका लागि १५ लाख रकम छुटाएको छ । भेटेरिनरी अस्पतालबाट प्राप्त पाँच सय खोपमध्ये चार सय खोप लगाइएको पशु शाखा प्रमुख हिक्मत बहादुर खड्काले बताए । त्यस्तै पालिकाले लम्पी स्कीन रोगका कारण गोरु मरेका कृषकलाई समूह बनाएर ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर समेत वितरण गर्दै आएको जनाएको छ । हालसम्म २५ वटा भन्दा बढी हाते ट्याक्टर वितरण भइसकेको बताइएको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले चालु वर्ष लम्पी स्कीन रोग नियन्त्रणका लागि सात वटा वडामा एक÷एक लाख गरी सात लाख रुपैया बजेट विनियोजन गरेको छ । पालिकाका पशु सेवा शाखा प्रमुख विशाल विसीका अनुसार अहिले भेटेरिनरी अस्पतालबाट प्राप्त भएको ५ सय डोज खोप लगाइएको छ । लेकमा रहेको चौरीलाई भने खोप लगाउन नपाएको उनले बताए ।
धार्चे गाउँपालिका भेटेरिनरी शाखा प्रमुख देवेद्र निरौलाका अनुसार पालिकाले चालु वर्ष लम्पी स्कीन रोग विरुद्धको पुर्णखोपसँगै अन्य खोप औषधी खरिदका लाग ५ लाख रकम छुट्याएको छ । रोग नियन्त्रणका लागि पालिकाले खरिद गरेको औषधी र भेटेरिनरी अस्पतालबाट प्राप्त भएको औषधी पशुचौपायामा लगाउने काम भइरहेको उनले बताए । भेटेरिनरी अस्पतालबाट प्राप्त भएको ४ सय डोज खोप पनि तत्काल लगाउन सुरु गरिने उनले जानकारी दिए ।
रोग नियन्त्रणका लागि सबै वडामा शिविर संचालनको तयारी भइरहेको भीमसेन थापा गाउँपालिकाले जनाएको छ । छिट्टै लम्पी स्कीन रोग विरुद्धको खोप लगाउन सुरु गरिने गाउँपालिका पशुसेवा केन्द्रका अधिकृत डा. गोकर्ण घिमिरेले बताए । भेटेरिनरी अस्पतालबाट हालसम्म पाँच सय खोप प्राप्त भएको पालिकाले जनाएको छ ।




