
छेकम्पार स्वास्थ्यचौकीमा २४ घण्टे प्रशुती सेवाकेन्द्र स्थापना
चुमनुब्री गाउँपालिका ७ छेकम्पारमा चौबीसघण्टे प्रशुती सेवाकेन्द्र(बर्थिङ सेण्टर) स्थापना भएको छ । सो क्षेत्रमा काम गरिरहेको किमोलुङ फाउण्डेशनले छेकम्पार स्वास्थ्यचौकीमा बर्थिङ सेण्टर निर्माण गरेको हो ।
करिब चार लाख ५० हजार रुपैयाँ खर्च गरेर केही दिनअघि बर्थिङ सेण्टर निर्माण गरेको फाउण्डेशनका अध्यक्ष वाङचुक राप्तेन लामाले जानकारी दिए । जर्मनीको होफ म्यान फेमिली नामक संस्थाको सहयोगमा किमोलुङ फाउण्डेशनले बर्थिङ सेण्टर निर्माण गरेको उनले बताए ।
‘२०३३ सालमा राजा वीरेन्द्रको हुकुम प्रामाङ्गीबाट यहाँ स्वास्थ्य चौकी निर्माण भएको इतिहास छ । त्यो भवन ०७२ सालको भूकम्पले ध्वस्त भयो । त्यसपछि हामीले नै करिब ७५ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भएको भवनमा अहिले बर्थिङ सेण्टर निर्माण गरेका हौँ’, उनले भने, ‘अब यहाँ आवश्यक स्रोत साधन पनि जुटाउने छौँ ।’
छेकम्पार स्वास्थ्य चौकीमा प्रशुती सेवाका लागि जनशक्ति पनि रहेको उनले बताए । एचए, स्टाफ नर्स, प्रशुती गराउने तालिम प्राप्त नर्स र अनमि कार्यरत रहेको उनले बताए ।
सो फाउण्डेशनले चुमनुब्री ३ फिलिममा अकुपञ्चर, आम्जी सेवा सञ्चालनको तयारी गरेको उनले बताए । ‘बर्खा लागेलगत्तै फिलिममा अकुपञ्चर र आम्जी सेवा सञ्चालन गर्ने तयारीमा छौँ’, उनले भने, ‘त्यसका लागि ३० लाख रुपैयाँ लाग्ने अनुमान गरेका छौँ ।’




