| मङ्लबार, कार्तिक २४, २०८३

साना सहरीद्धारा महशुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु

पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानीको महशुल नतिर्ने ग्राहकको पानीको धारा काट्न सुरु गरेको छ । विहिबार केही सरकारी कार्यालय, होटल र व्यक्तिका घरमा जडान गरिएको धाराको लाइन काटिएको संस्थाकी अध्यक्ष सिता खड्काले बताइन् ।

‘धेरै समयदेखि महशुल नतिरेर बक्यौता रकम धेरै भएका उपभोक्ताको लाइन काट्न थालेका हौ,’ उनले भनिन्, ‘लाइन काट्ने मात्र होइन जडान गरिएको मिटरपनि झिकेर ल्याएका छौ ।’

बिहीवार नौ जनाको लाइन काटिएको उनले जानकारी दिइन् । पटक पटक पत्राचार गरेर बक्यौता रकम तिर्न आग्रह गर्दा समेत अटेर गरेपछि लाइन काट्न बाध्य भएको उनले बताइन् ।

बिग्रेको मिटरबाट पानी संचालन गर्ने, मिटरको शिल नलगाउने, अर्काको नाममा पानी उपभोग गर्ने, पुराना धाराबाट उठेको रकम नतिरी नयाँ मिटर जडान गर्ने जस्ता कार्य गर्ने उपभोक्ताको समेत नयाँ–पुरानो दुवै लाइन काटिने उनले चेतावनी दिइन् ।

संस्थाका कोषाध्यक्ष नविन कुमार श्रेष्ठले बाँकी बक्यौता नतिर्ने ग्राहकको धाराको लाइन काट्ने क्रम दैनिक रुपमा संचालन हुने बताए । यति गर्दा पनि महशुल नतिरेको खण्डमा संस्थाको नियम अनुसार थप कारवाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्