
प्राविधिक चोरसंग सावधान
कुनै समय थियो, ग्रामीण भेगमा पैसा हुदैनथ्यो । अहिले जस्तो धेरै देशमा रोजगारी खुलेका थिएन । लाहुरे तथा कलकत्ता, गुजरात लगायतका भारतका विभिन्न ठाउँमा काम गर्न गएर फर्केकाहरुसंग मात्र अलिअलि पैसा हुन्थ्यो । गाउँको अर्थतन्त्र उनीहरुले नै चलाउँथे ।
तर दुखद पक्ष यस्तो पनि हुन्थ्यो, चाडबाड आउन लागेपछि लाहुरे, कलकत्तेहरु आउँदैछन् रे भन्ने सुनेपछि चोर वा लुटेराहरु गौँडो ढुकेर बस्थे । आक्रमण गर्थे । दोहोरो भिडन्त हुन्थ्यो । जित्न सके लुट्थे । लाहुरे, कलकत्तेहरुको घरमा पैसा छ भन्ने अनुमान गरी चोरहरुले घर फुटाउँथे । गाडीमा यात्रा गर्नेहरुलाई लुट्न राती गाडी नै कब्जा गरी लुट्ने जमाना पनि थियो ।
त्यसपछि पकेटमारहरु पनि सक्रिय रहे ।
तर अचेल त्यसरी गौँडो ढुकेर बस्ने चलन हरायो । वैँकबाट सबै आर्थिक कारोबार हुन थाल्यो । त्यसपछि साथमा धेरै पैसा लिएर हिँड्ने चलन पनि हरायो । वैंकिङ शिक्षा बढ्न थालेपछि मान्छेहरुले नगद घरमा राख्न पनि छाडे ।
मोबाइल एपबाट आर्थिक कारोबार हुन थालेपछि अहिले पकेट मार, घर फुटाउने चोर, लुटेराहरुको जमाना बिस्तारै अन्त्य हुन थाल्यो । वैंकिङ कारोबार बढेर पैसा बैँकमा थुप्रिन थालेपछि वैँक लुट्ने प्रचलन पनि नआएको होइन । एक कोणबाट बुझ्दा जमाना सुरक्षित हुदै गएको छ ।
तर जति नयाँ नयाँ औषधी आविष्कार हुदै जान्छ, उति नयाँ नयाँ रोग पनि बन्दै जान्छ भने झैँ, सुरक्षा र जोखिमका नयाँ नयाँ ‘साइकल’ एकपछि अर्को निरन्तर आइरहेका छन् ।
मान्छेले सुविधाका लागि जति धेरै प्रविधिको विकास गरिरहेको छ, उति धेरै प्राविधिक चोरहरुको बिगबिगी पनि बढिरहेको छ । केही बर्षदेखि व्यक्तिको फेसबुक ह्याक गरी विभिन्न मान्छेहरुसित च्याट गरी पैसा माग्ने र गायब हुने, विभिन्न व्यक्तिहरुको वैँकको खाता ह्याक गरी रकम झिक्ने जमाना आयो । अहिले फेरि ओटिपी कोड मागी मोबाइल वैंकिङबाट कसैको वैँकमा रहेको सबै रकम स्वाहा बनाउने चलन आएको छ ।
त्यसैले आफ्नो पासवर्ड, ओटिपी जस्ता नित्तान्त गोप्य सूचनाहरु कसैसंग पनि सेयर गर्नु हुँदैन ।




