| मङ्लबार, कार्तिक २४, २०८३

मनाङमा बारुला खाँदा गोरखाका पाँच जना सहित ८ जना बिरामी

हिमाली जिल्ला मनाङमा जंगलबाट ल्याएको बारुला पकाएर खाँदा ८ जना कामदार गम्भीर बिरामी परेका छन् । सदरमुकाम चामे नजिकै कोतोबाट नार्पाभूमि जाने बाटो नार्पाभूमि गाउँपालिका–२ छ्याज्याको होटलबाट बाँडेको बारुला खाँदा होटल सञ्चालकसहित कामदार बिरामी भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार सदरमुकाम चामेस्थित मनाङ जिल्ला अस्पतालमा उपचारपछि घाइतेमध्ये ७ जनालाई थप उपचारका लागि लमजुङ सदरमुकाम बेंसीसहरस्थित लमजुङ अस्पतालमा पठाइएको छ । एक जनाको जिल्ला अस्पताल मनाङमै उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका ४४ वर्षीय दलबहादुर आलेमगर, ४३ वर्षीय टेकबहादुर सुनार, ३८ वर्षीय महलमान थापामगर, ४० वर्षीय गुञ्जमान थापा, गोरखा पालुङटार नगरपालिकाका–८ का ३८ वर्षीय सेते तामाङ, उदयपुर कटारी नगरपालिका–८ की ४७ वर्षीया लिला तामाङ, धादिङ रुवीभ्याली गाउँपालिका–५ का ४४ वर्षीय प्रेमबहादुर घले र रोल्पा थवाङ गाउँपालिका–२, फुन्तिवाङ घर भइ नार्पाभूमि गाउँपालिका–२ छ्याज्यामा होटल व्यावसाय गरी बस्ने ४७ वर्षीया रामसरी बुढामगर बिरामी भएका हुन् ।

रामसरीले सञ्चालन गर्दै आएको होटलमा रामसरी र उदयपुर कटारीकी लिला तामाङले बारुला भुटेर खाएका हुन् । अरुले चामे गाउँपालिका–५ क्षेत्रमा ल्याएर बारुला खाएका थिए । डीएसपी भण्डारीका अनुसार बुधबार बिहान जानकारी पाउनासाथ प्रहरीलाई पठाएर उद्धार गरी चामेस्थित जिल्ला अस्पताल ल्याएको र सामान्य उपचारपछि लमजुङतर्फ जिपमार्फत पठाएको बताए । ‘रातिदेखि नै बिरामी परेका रहेछन् । बिहानमात्रै खबर आयो । हामीले छिटो उद्धार गर्न नसके के भइसक्थ्यो भन्न सकिँदैनथ्यो,’ उनले भने । मोटरबाटो नभएको उक्त ठाउँबाट बिरामीलाई बोकेर ल्याइएको उनले बताए ।

विरामी लिला तामाङका अनुसार जंगलबाट ल्याइएको बारुला उनीहरुले मंगलबार बिहान १० बजेपछि खाएका थिए । उनी आफू राति ११ बजेतिरबाट बिरामी परेको बताइन् । मुटु दुख्ने, पेट दुख्ने र त्यसपछि बेहोस भएको उनले बताइन् । पुरुष कामदारहरु चामेको कोतो पारी क्षेत्र ९चामे गाउँपालिका(५० मा बस्ने र उनीहरुले त्यहाँ ल्याएर बारुला खाएका थिए । खाएकाहरु सबै बिरामी परेको उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका इन्सपेक्टर बुद्धिप्रसाद सुवेदीले लमजुङ अस्पतालमा उपचार गराइरहेकामध्ये ३ जना बुधबार साँझ चितवन रिफर गरिएका छन् । गोरखाका टेकबहादुर सुनार, गुञ्जमान थापा र सेते तामाङलाई थप उपचारका लागि चितवनस्थित सरकारी अस्पतालमा रिफर गरिएको छ । source:ekantipur

प्रतिक्रिया दिनुहोस्