| सोमवार, कार्तिक २३, २०८३

बक्यौता टाउको दुखाइ

सेवा सुविधा लिने तर तिर्नुपर्ने महशुल नतिर्ने नमक हरामहरु समुदायमा धेरै हुन्छन् । विद्युत उपभोग गर्छन्, महशुल तिर्दैनन्, पानी उपभोग गर्छन्, महशुल तिर्दैनन्, व्यापार व्यवसाय गर्छन्, तर कर छली गर्छन् ।

यस्ताहरु पैसा सापट लगेर नतिर्ने, पैँचो मागेर नतिर्ने, अर्मपर्म नतिर्ने, उदारो खाएर नतिर्नेकै कोटीमा पर्छन् । व्यक्तिको उपभोग गरेर नतिर्ने प्रवृत्ति र सरकारी तथा संस्थागत उपभोग गरेर नतिर्ने प्रवृत्तिमा खासै फरक हुदैन । यस्ताहरुलाई बाहिरबाट हेर्दा जति स्मार्ट देखिए पनि समुदायले ललकार्छन् ।

तिर्नुपर्ने नतिर्नु भनेको धेरै नै घटिया प्रवृत्ति हो । त्यस्तालाई तिर्न बाध्य पार्नुपर्छ । नेपाल टेलिकमले तिर्न बाध्य पार्ने प्रविधिको प्रयोग ग¥यो । इन्टरनेट, मोबाइल तथा ल्याण्डलाइन फोनको पैसा तिरेन भने स्वतस्फूर्त सेवा अवरुद्ध हुन्छ । त्यसलाई मान्छेले चाहेर पनि सुचारु गर्न सक्दैन । अब महशुल तिर्नुपर्ने खानेपानी, विद्युत जस्ता सेवाहरुले पनि यो प्रविधि लागु गर्नु वाञ्छनीय हुन्छ ।

तर कतिपय अबस्थामा सेवा प्रदायक निकायले नै हरहिसाब गोलमाल गरेमा त्यो दुखद हुनेछ । जस्तो कि, साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले कतिपय विधिवत रुपमा बन्द भइसकेका खानेपानी लाइनको पनि लगत कट्टा गरेको छैन । जसका कारण पानीको महशुल तिर्न छाडेको लामो समय भइसक्दा पनि तिर्नुपर्ने रकम बक्यौता देखिन्छ । बक्यौता देखिएपछि आफ्नो मान, मर्यादा, प्रतिष्ठामा बसेकाहरुको पनि बद्नाम हुन्छ । त्यसैले यस्ता विषय संवेदनशील हुन्छ । यस्तो विषयमा व्यवस्थापन पक्षलाई चुस्तदुरुस्त बनाउनुपर्छ, जसले गर्दा निर्दोषहरु दोषी नदेखियून् ।

बक्यौता भनेको सबैका लागि टाउको दुखाइ हो । सेवा प्रदायक संस्थाका लागि बक्यौता उठाउनु पर्ने विषय यसै टाउको दुखाइ नै हो । जसको बक्यौता छैन, उसको नाममा बक्यौता देखिनु झन् टाउको दुखाइको विषय हो त्यसैले यस विषयलाई सुक्ष्मातिसुक्ष्म रुपमा अध्ययन गरी व्यवस्थित गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्