
अझै वितरण भएन दरौदी लिफ्टिङको पानी
केशव गुरुङ :
गोरखा सदरमुकामको खानेपानी आपूर्तीको मुख्य आधार मानिएको दरौँदी लिफ्टिङ खानेपानी आयोजनाले पानी वितरण गर्न सकेको छैन । ट्रान्सफर्मर बिग्रिएको भन्दै बिगत डेढ महिनादेखि पानी वितरण कार्य ठप्प पारेको छ ।
गोरखा नगरपालिका–३ घलाङमा रहेको मुख्य ट्रान्सफर्मर पड्किदा समस्या भएको दरौदी गोरखा बृहत लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बिनोद अर्यालले बताए ।
मर्मतको काम भइरहेपनि पानी वितरण हुन केही दिन लाग्ने उनले जानकारी दिए ।
संस्थामा आवद्ध अन्य खानेपानी आयोजनाहरुले पानी किन्न आनाकानी गर्दै आएको उनको गुनासो छ । हाल संस्थामा सदरमुकाम आसपासका २२ वटा खानेपानी आयोजना आवद्ध छन् । संस्थाले उक्त आयोजनाहरुलाई पानी बेच्ने भनेपनि अधिकांशले पानी लिन नमानेको अर्यालले बताए ।
‘संस्थामा आवद्ध २२ वटा खानेपानी आयोजनाका समिति सदस्यहरु बसेर पानीको मूल्य निर्धारण पनि गरेका छौ,’ उनले भने, ‘तर उहाहरुले पानी लिन मान्नुहुन्न ।’ उनका अनुसार दरौदी लिफ्टिङको खानेपानी प्रयोग गरेबापत खानेपानी उपभोक्ता समितिहरुले आ–आफ्नो संस्थाको महसुल दर अनुसार बल्व मिरटबाट उठेको रकमको ८० प्रतिशत दरौदीलाई बुझाउने र २० प्रतिशत समितिकै खातामा राख्ने निर्णय भएको थियो । तर व्यवहारमा कार्यान्वयन नभएको उनको भनाइ छ ।
दैनिक २५ लाख लिटर पानी वितरण गर्न सक्ने क्षमता भएपनि संस्थामा आवद्ध समितिहरुले २÷३ लाख लिटर मात्र पानी लिने गरेको अर्यालले जानकारी दिए । खानेपानी आयोजनाहरुले दरौदीको पानी उपभोग गरेवापतको महशुल रकम बुझाउन आनाकानी गर्ने गरेको उनको आरोप छ ।
आयोजनाको पानी खपत नहुने गरेको दरौदी लिफ्टिङ आयोजना निर्माण व्यवसायीका प्रतिनिधि तथा इन्जिनियर टिकाराम चालिसेले बताए । उनका अनुसार आयोजनाको क्षमता अनुसार प्रति सेकेण्ड ३३ लिटरका दरले ७० प्रतिशत मात्र पानी आएमा पनि दैनिक १८ लाख लिटर पानी उत्पादन हुन्छ । तर सो पानी खपत नभएको बताइएको छ ।
दरौदी लिफ्टिङ खानेपानी आयोजना निर्माण कार्य २०७४ सालबाट सुरु भएको थियो । तीन वर्षमा सम्पन्न गर्ने गरी रमण एण्ड जेभी कम्पनीसँग ठेक्का सम्झौता भएपनि तोकिएको समयमा निर्माण सम्पन्न हुन सकेन ।
कोभिड, खानेपानीको डिजाइन परिवर्तन र विभिन्न स्थानमा ट्यांकी थप गर्नुपरेकाले समस्या भएको बताइएको छ । २०७८ फागुन २८ गते बाट आयोजनाले खानेपानी वितरण कार्य सुरु गरेको हो ।
जरेबरस्थित दरौंदी नदीबाट तानिएको पानी लिफ्टिङ प्रविधिमार्फत उपल्लोकोटको मुख्य ट्याङ्कीमा पु¥याएकोे छ । सो ट्यांकीबाट स्थानीयस्तरका खानेपानी आयोजनाको वितरण लाइनमार्फत घरघरमा पु¥याउदै आएको बताइएको छ ।




