
सरकारी कार्यालय र संघसंस्थाले नै बुझाउदैनन् पानीको महशुल, साना शहरीको करिव ३२ लाख बक्यौता रकम उठ्न बाँकी
केशव गुरुङ :
पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई पानीको महशुल रकम उठाउन सकस परेको छ । हालसम्म करिव ३२ लाख बक्यौता रकम उठन बाँकी रहेको संस्थाले जनाएको छ ।
पटक पटक पत्राचार गरेपनि केही उपभोक्ताहरुले महशुल नतिरेको संस्थाकी अध्यक्ष सिता खड्काले बताइन् । उनका अनुसार सबैभन्दा धेरै जिल्ला समन्वय समितिले १० लाख २७ हजार महशुल रकम तिर्न बाँकी छ । राज्य पुर्नसंरचनासँगै जिसस बनेको साविकको जिल्ला बिकास समितिले हालसम्म खानेपानी उपभोग गरेवापत शुल्क तिरेको छैन ।
गोरखा उद्योग वाणिज्य संघले २०७७ असारदेखि महशुल तिरेको छैन । उक्त संस्थाले २ लाख ७ हजार रकम तिर्न बाँकी छ । त्यस्तै जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयले ४२ हजार, गोरखा नगरपालिकाले ३२ हजार र गोरखा गार्डेन होटलले १ लाख ३६ हजार रुपैया खानेपानी महशुल बुझाउन बाँकी रहेको संस्थाले जनाएको छ ।
जिविसचोकस्थित राजेन्द्र प्रसाद अर्यालको नाममा २ लाख ८ हजार बक्यौता रकम रहेको छ । यता सहिद प्रतिष्ठान नेपाल (पाटेचौर) बाट ३३ हजार र गोरखा नगरपालिका बहुउद्देश्यीय भवनबाट ६१ हजार महशुल उठ्न बाँकी रहेको संस्थाकी अध्यक्ष खड्काले बताइन् ।
उनका अनुसार हरमटारीका बल बहादुर श्रेष्ठले २ लाख ६१ हजार, चम्पा गुरुङले ४७ हजार, चम्पा श्रेष्ठले ४१ हजार, उमा कुमारी जोशीले ८३ हजार, हरिहर श्रेष्ठले ३३ हजार, दिनेशरमण खनालले २५ हजार, सोम बहादुर थापाले २४ हजार र गोमा पोखरेलले २० हजार महशुल रकम तिर्न बाँकी छ ।
त्यस्तै पाटेचौरका विष्णु भक्र श्रेष्ठबाट ५६ हजार, रामलाल श्रेष्ठबाट २८ हजार, धिरजलाल श्रेष्ठबाट ३० हजार र रामलाल श्रेष्ठबाट २८ हजार महशुल रकम उठ्न बाँकी रहेको संस्थाले जनाएको छ । संस्थाका अनुसार नयाँ बसपार्कका इन्द्रकुमारी जोशीबाट ६९ हजार, नयाँ बजारकी मिरजा खातुनबाट ३० हजार, प्रेमकुमारी थापाबाट ८२ हजार, बसपार्कका रामबाबु श्रेष्ठबाट ३८ हजार, धनमानबाबु श्रेष्ठबाट २६ हजार रकम उठ्न बाँकी छ ।
छहरेका रविनबाबु श्रेष्ठले २७ हजार, कौउशिल रानाले ३३ हजार, सुनिता दर्नालले २५ हजार, बराहकी निल कुमारी विकबाट ५० हजार महशुल रकम तिर्न बाँकी छ ।
धारापानीका भिमसिं बस्नेतको नाममा ७९ हजार, रानीवानका विश्वेश्वर श्रेष्ठको नाममा ३६ हजार, तीनधारेका चुडा नारायण किसन बाबु श्रेष्ठको नाममा ४७ हजार, अस्पतालचोकका नजिर बिबिको नाममा २७ हजार र बिसौनीमोडका नजरुल अन्सारीको नामममा ४४ हजार बक्यौता रकम देखिएको संस्थाले जनाएको छ ।
हालसम्म कुल ३१ लाख ९६ हजार बक्यौता रकम उठ्न बाँकी रहेको बताउँदै संस्थाकी अध्यक्ष खड्काले पटक पटक आग्रह गर्दा पनि अटेर गर्दै आएको गुनासो गरिन् । समयमै महशुल रकम नउठ्दा नगरविकास कोषलाई तिनुपर्ने ऋण तिर्न नसकिएको उनले जानकारी दिइन् ।
महशुल नबुझाउने उपभोक्ताको लाइन काटिने
महशुल नबुझाउने उपभोक्ताको लाइन काटिने संस्थाले चेतावनी दिएको छ । पटक पटक आग्रह गर्दा पनि महशुल नबुझाउने उपभोक्ताको घरको धारामा क्याप लगाई मिटर जफत गरी कार्यालयमा ल्याउने अध्यक्ष खड्काले बताइन् । ‘अवको तीन महिनाभित्र पानीको महशुल नबुझाउनेको धाराको लाइन काट्छौ,’ उनले भनिन्, ‘पुनः जडान गर्न चाहेमा जरिवाना तिर्नुपर्ने हुन्छ ।’
पानीको मिटर तलमाथि गर्ने उपभोक्तालाई समेत कारवाही गर्ने संस्थाले जनाएको छ । पानीको मिटरमा भएको अकं र मिटर रिडिङ गर्दाको अकं फरक पाइएमा कारवाही गरिने र पानीको मिटर भन्दा तलबाट पानी अनियमितता गरेको पाएमा ५५ हजारसम्म जरिवाना हुने संस्थाले चेतावनी दिएको छ । उपभोक्ताको मिटरमा शिल लगाउने कार्य अन्तिम चरणमा पुगेको संस्थाकी अध्यक्ष खड्काले बताइन् ।
यसअघिको कार्यसमितिको लापरवाहीका कारण बक्यौता रकम धेरै भएको संस्थाका कोषाध्यक्ष नविनकुमार श्रेष्ठले बताए । केही दिनभित्रै कार्यसमितिको बैठक बसेर बक्यौता रकम तिर्नका लागी समयसिमा निर्धारण गरिने उनले जानकारी दिए ।




