
कारागार सुधारको खाँचो
कारागारलाई सुधार गृहको रुपमा मात्र हेर्ने दृष्टिकोण फराकिलो भइसकेको छ । तर, पनि जिल्लाको कारागार यातनागृहभन्दा फरक हुन सकेको छैन । क्षमताभन्दा दोब्बर केदीवन्दी त छन् नै त्यसमाथि भौतिक र अन्य सेवा सुविधामा समेत कन्ज्यूँस्याई हुदै आएको छ ।
गोरखा कारागारमा अहिले १ सय १२ जना कैदीवन्दी छन् । क्षमताभन्दा दोब्बर कैदीवन्दी अटसमटस भएर बस्नुपर्दाको पीडा भोग्नेलाई मात्र थाहा होला । महिला कारागार शौचालयमा पानीको व्यवस्था छैन । पुरुष कैदीवन्दीलाई सुत्नका लागी पलङ अभाव उस्तै छ । त्यसमाथि उडुसको समस्याले उनीहरुलाई पिरोलिरहन्छ । कारागारमा विभिन्न सङ्क्रामक रोगका बिरामी पनि हुनसक्छन् । उनीहरूबाट अरू कैदीबन्दीलाई रोग सर्ने जोखिम पनि उत्तिकै छ ।
कारागारमा रहेकाहरु सबैलाई एउटै नजरले हेर्नु पनि न्यायोचित
हुदैन । कानूनको नजरमा दोषी ठहर भएर कैद सजाय भोगेकाहरु रिहा भएर सज्जन बनेका उदाहरणहरु पनि छन् । त्यसैले कारागार अपराधीहरुले भरिएको नरक मात्र होइन सुधार गृह पनि हो भन्ने मान्यता बिकास हुनुपर्छ र भइरहेको पनि छ । तर पनि कैदीवन्दीका कैयौ समस्या छन् । कारागारका भौतिक सुविधा मानवोचित स्तरको बनाउनुका साथै सुधारका विभिन्न उपाय अपनाएर व्यवस्थापन सहज बनाउनुपर्छ । साथै खानेपानी, शौचालय लगायतका सुविधाको सहज पहुँच हुनुपर्छ ।
बिभिन्न सिपमूलक तालिम प्रदान गर्न उनीहरुको कैद रिहापछिको जीवनमा उपयोग समेत हुने छ । कारागार सुधारका विभिन्न उपायमध्ये एउटा खुला कारागारको अवधारणा पनि हो । लामो समयसम्म थुनामा राख्नुपर्ने कैदीलाई राख्न खुला कारागार प्रणाली कार्यान्वयन गर्न सके प्रभावकारी हुने छ ।




