| सोमवार, कार्तिक २३, २०८३

बगुवाका भूकम्प पीडितको मिलनबस्तीमा बस्ने सपना पूरा गर

२०७२ सालको भूकम्पले घर भत्किएपछि भीमसेनथापा गाउँपालिका ५ धरमपानी, रिठ्ठेपानी, पाण्डेगाउँ, नयाँगाउँ र डाँडागाउँका बासिन्दालाई मिलनबस्तीमा एकीकृत बस्ती बनाएर बसोबास गराउने सपना बाँडियो । पिडित १३८ घरपरिबारलाई मिलनबस्तीमा सुविधासम्पन्न एकीकृत बस्ती बनाई बसोबास गराउने त्यतिबेला सपना बाडिएको थियो ।

तर आठ बर्ष बितिसक्यो, पिडितले न नयाँ घरमा ढुक्कले बस्न पाइएका छन्, न पुरानो थलोमै स्थायी रुपले बस्न पाइएका छन् ।
पुरानो थलोमा घर बनाएर बसुँ भने गाउँलेले बनाएको नीति नियम पालना नगरेको आरोप लगाउने डर । त्यतिमात्र होइन, सरकारले निजी आवास निर्माण गर्न दिएको तीनलाख रुपैयाँ मिलनबस्तीका लागि हस्तान्तरण गरिसकेका छन् । मिलनबस्तीमा बस्न थालुँ पनि आठबर्षदेखि घर निर्माण सम्पन्न भइसकेको छैन ।

यो आठबर्षको अवधिमा कतिपयले भने नयाँ घर पाएर स्थायी रुपमा बस्न थालिसकेका छन् । विशेषगरी अक्सफाम नाम अन्तर्राष्ट्रिय संस्थाले त्यहाँ ३० वटा घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ । करिब १० वटा अरु घर पनि निर्माण सम्पन्न भएर बसोबास गर्न थालिसकेका छन् । तर बाँकी घर भने अलपत्र अबस्थामा छन् ।

त्यसैले त्यहाँका बासिन्दा दिनभर मिलनबस्तीको घरतिर बिताएर राती सुत्न फेरि आ–आफ्नै पुरानो थलोमा सुत्नबस्न फर्कन्छन् । मिलनबस्तीको घर निर्माणका लागि घरवालाले करिब नौ, दस लाख रुपैयाँ खर्च गरिसकेका छन्, तर अझै पूरा भएको छैन् । अझै कति पैसा लाग्ने हो, कहिले सम्पन्न हुने हो भनेर उनीहरु चिन्तामा छन् । खेतीबाली, बस्तुभाउ पुरानै बस्तीमा रहेकाले आवतजावतमा निकै समस्या रहेको उनको गुनासो छ ।

घरबाहेक नाला निर्माणको काम अझै सुरु भएको छैन । खानेपानी, सडक, घेराबार आदि निर्माणको काम पनि सम्पन्न भएको छैन । धेरैथोक निर्माण गर्नुपर्ने छ । यी सबै काम यथासीघ्र निर्माण सम्पन्न गरी भूकम्प पीडितको समस्या समाधान गर ।

प्रतिक्रिया दिनुहोस्