
राष्ट्रिय परिचयपत्र वितरण कार्य चुस्त होओस्
जिल्ला प्रशासन कार्यालय गोरखाले राष्ट्रिय परिचयपत्र वितरण कार्यको शुभारम्भ गरेको छ । मंगलबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो परिचयपत्र वितरण कार्यको शुभारम्भ गरेका हुन् ।
बिगत दुईबर्षअघिदेखि फाराम भरेर बसेका सेवाग्राहीहरु परिचयपत्र पाउने व्यग्र प्रतिक्षामा छन् । अब यो वितरण कार्य सुरु भएपछि लिन आउनेको भीड लाग्ने पक्का छ ।
जसरी यसअघि राहदानी तथा राष्ट्रिय परिचयपत्रको फर्म भर्न सेवाग्राहीको अपार भीड लाग्थ्यो, अब परिचयपत्र लिन आउनेको पनि त्यस्तै भीड लाग्न सक्छ । यो अबस्थालाई व्यवस्थित बनाउने बारेमा कार्यालयले पूर्व तयारी गर्नुपर्छ ।
अहिले गोरखामा जम्मा दुईहजार चारसय ५३ थान परिचयपत्र मात्र तयार भएको छ । फर्म भने एकलाख ५९ हजार ६८९ जनाले भरिसकेका छन् । २५ हजार कार्ड तयारी अबस्थामा रहेको छ । ती कार्डलाई व्यवस्थित र सुलभ तरिकाले वितरण गर्न कार्यालयले तयारी गर्नुपर्छ, ताकि, सेवाग्राहीहरुले सुखद तरिकाले प्राप्त गर्न सकुन् ।
फाराम भरेको दुईबर्षपछि पाउन लागेको कार्ड पनि तनाबपूर्ण रुपले पाउनु नपरोस् भन्ने एकातिर सबैको चाहना हुन्छ । अर्कातिर कार्यालयको पनि आफ्नै सीमितताहरु हुनसक्छ । कर्मचारी जनशक्ति अभाव, प्राविधिक समस्याहरु अरु हुन सक्छन् ।
यी दुवै पक्षको मर्म र भावनालाई सम्मान गरेर कार्यसम्पादन गर्नु नेतृत्वको सीप हो ।
बिगत बर्षमा राहदानी र राष्ट्रिय परिचयपत्रको फाराम भर्न बिहान पाँच बजे झिस्मिसेमा लाइन लाग्ने गथ्र्यो । तर यसबर्ष सेवाग्राहीले सुखद रुपमा सेवा पाए । भलै कर्मचारीले केही दुख सामना गर्नुपरेको थियो ।
यस्तै कौशलता प्रयोग गरी सेवाग्राहीले सुलभ तबरले राष्ट्रिय परिचयपत्र पाउने व्यवस्था होओस् ।




