
बोर्ड बनेपछि खानेपानीको समस्या दीर्घकालीन समाधान होओस्
लामो गृहकार्यपछि गोरखा नगरपालिकाले खानेपानी तथा सरसफाइ ऐन २०८० जारी गरेको छ । गत असार १० गते सम्पन्न बाह्रौँ नगरसभाबाट स्वीकृत भएको सो ऐन राजपत्रमा प्रकाशित भएपछि सोमबारबाट सक्रिय भएको हो ।
यससंगै अब गोरखा नगरपालिकामा खानेपानी तथा सरसफाइ बोर्ड पनि गठन हुनेछ । अब भने नगरबासीलाई खानेपानी तथा सरसफाइ उपलब्ध गराउने दायित्व तथा जिम्मेवारी नगरपालिकाले प्रत्यक्ष रुपले वहन गर्ने भएको छ ।
सुख्खा सिजनमा गोरखामा खानेपानीको हाहकार हुने गरेको छ । उचित व्यवस्था हुन नसक्दा यो अबस्था आएको हो । खानेपानी उपलब्ध गराउने समितिहरुको लापार्बाहीका कारण ग्राहकहरु निकै मर्कामा पर्ने तर समितिहरुले कुनै चासो नदेखाउने गरेको अबस्था थियो ।
२१ वटा विभिन्न समितिलाई पानी उपलब्ध गराउने दायित्व लिएको दरौँदी लिफ्टिङ खानेपानी आयोजनासंग पनि पानी नलिने, ग्राहकहरुलाई पनि पर्याप्त पानी वितरण गर्न नसक्ने अबस्था यसअघि थियो ।
पानी वितरण नगर्ने तर समितिहरुले आफूखुशी मनोमानी ढंगले महशुल निर्धारण गरी असुल्ने पनि गरेका थिए ।
खानेपानी बोर्ड बनेपछि यी तमाम समस्या समाधान हुने आशा तथा अपेक्षा नगरबासीको छ ।
नगरप्रमुखको अध्यक्षतामा गठन हुने खानेपानी बोर्डले खानेपानीका श्रोतको संरक्षण र उपयोग गर्ने, नगरपालिकास्तरमा आधारभूत खानेपानी तथा सरसफाइ सेवाको व्यवस्थापन, सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि, फोहरपानी तथा फोहरमैला व्यवस्थापन प्रणालीको सञ्चालन गर्नेछ । साथै आयोजना छनौट गर्ने, निर्माण तथा सञ्चालनको जिम्मेवारी पनि बोर्डले लिन सक्ने व्यबस्था छ ।
बोर्ड गठन भएपछि संगठित संस्था बोर्ड मातहत रहने छन् । यसअघिदेखि सञ्चालनमा रहेका उपभोक्ता समिति वा संस्थाले २०८० भदौ २० गतेभित्र नगरपालिकामा सूचिकृत भईसक्नु पर्ने भएको छ ।




