
भ्रष्टाचारीको ‘नेक्सस’ ठूलै छ, हामीलाई असफल पार्न खोज्छन् : गृहमन्त्री
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार अन्त्य गर्ने अभियानमा लाग्दा गठबन्धनभित्र, बाहिरबाट आफूलाई गठबन्धनभित्र, बाहिरबाट असफल बनाउन खोज्नु स्वभाविकै रहेको बताएका छन् ।
मंगलबार गृहजिल्ला गोरखाका पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार विरोधी आफ्नो अभियानमा लाग्नेहरुलाई असफल बनाएर छाड्ने बताएका हुन् ।
‘भ्रष्टाचार विरोधी अभियान सुरुसुरु अघि बढ्छ भन्ने नठान्नु होला । भ्रष्टाचारीहरुको नेक्सस पनि ठूलै छ । त्यसकारण विभिन्न ढंगबाट यो अभियानलाई रोक्न खोज्नु स्वभाविक छ, तर त्यो अभियानलाई हामी असफल पार्छौँ’, उनी भन्छन्, ‘हुनसक्छ कि, हाम्रो पार्टी नै शुद्ध छ भन्ने नै छैन । नेपाली कांग्रेससहित हाम्रो गठबन्धन के शुद्धैशुद्ध छ ? भन्न त सकिन्न नि । तर मूलभूत रुपमा सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा यो समिकरणको सरकार भ्रष्टाचारविरुद्ध, सुशासनको अभियान अगाडि बढाउन र संवृद्धिको लक्ष्य हाँसिल गर्न प्रतिवद्ध छौँ ।’ मूल ट्रेनमा कुनै समस्या नभएको भन्दै उनले यताउता जोडिएको हुनसक्ने बताए ।
एकपछि अर्को प्रकरण आइरहँदा पुराना प्रकरण ओझेलमा नपर्ने पनि उनले बताएका छन् ।
‘नयाँ नयाँ अनुसन्धानमा लाग्दा पुराना अनुसन्धानमा बिराम लाग्यो नभन्ठान्नु होला’, मन्त्री श्रेष्ठले भने, ‘बिराम लागेको छैन । अनुसन्धान जारी छ । अनुसन्धानले तथ्य खोज्दै जान्छ, जहाँसम्म पुग्नुपर्छ पुगेरै छाड्छ । ठूलो होस् कि सानो होस् हामीलाई मतलब छैन । दोषी छ, अपराध गरेको तथ्य प्रमाण पुग्छ भने कानूनी दायरामा आउँछ । जरैसम्म, यसको नेक्सससम्म पुग्ने निर्देशन दिएका छौँ । त्यसका आधारमा सबैलाई कारबाहीको आधारमा ल्याइन्छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण तथा सय किलो सुन प्रकरणमा प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको उनले बताएका छन् । ‘फलाना पात्र पनि संलग्न होलान्, फलानालाई पनि पक्राउ गर्दिए त हुन्थ्यो नि भनेर कसैलाई लागेको होला’, उनले भने, ‘तर प्रहरी प्रशासनले अनुसन्धान गर्दा धेरै मान्छेले यस्तो कुरा भनेका छन् भनेकै आधारमा, कसैलाई लागेकै आधारमा पक्राउ त गर्दैन नि । अनुसन्धानले जे तथ्य प्रमाण भेट्छ, त्यसकै आधारमा अघि बढ्नु प¥यो ।’ प्रहरी अहिले गम्भीर अनुसन्धानमा रहेको उनले बताए ।
‘एयरपोर्टको सबै निकायहरुलाई समन्वय गरेर नयाँ ढंगले सुरक्षा व्यवस्था मिलाउँदैछौँ । प्रारम्भिक कक्षमा कहीँ पनि लगेजको स्कक्रिनिङमा होस् वा कार्गोको स्क्रिनिङमा होस्, प्रहरीको उपस्थिति नै नहुने जुन अहिलेको अबस्था छ, त्यसलाई परिवर्तन गरेर त्यहाँ प्रहरीको उपस्थिति गराउने र अरुको हकमा चाहिँ प्रविधिसहित नयाँ ढंगले त्यसको व्यवस्थापन गर्ने भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ’, उनले भने ।




