| सोमवार, कार्तिक २३, २०८३

फौजदारी अभियोग लागेकालाई निलम्बन गर्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय समितिले गर्ने निर्णयमा आफ्नो १३ बुँदे फरक मत रहने बताएका छन् । उनले भ्रष्टाचार र सुशासनका विषयमा आफ्नो मत केन्द्रीय कार्यसमितिको निर्णयमा दर्ज गराउन लागेको बताएका हुन् ।

केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा आफ्ना धारणा राख्ने क्रममा थापाले भ्रष्टाचार र सुशासन सम्बन्धमा आफ्ना १३ बुँदे मत रहने जानकारी गराएका हुन् । उनले भ्रष्टाचारमा संलग्न भएकाले कसैले छुट पाउन नहुने बताए ।

उनले फौजदारी अभियोग लागेको अवस्थामा पार्टीले नेताहरूलाई निलम्बन गर्नुपर्ने बताएका छन् । संसद्को नियमावलीले ३ वर्षभन्दा बढीको सजाय हुने मुद्दामा निलम्बन हुने व्यवस्था स्मरण गराउँदै उनले त्यो पार्टीमा पनि पालना गराउनुपर्ने बताए । भोलि आफूलाई परे पनि त्यो कुराको कार्यान्वयन गर्नुपर्ने बताए ।

सुशासन र भ्रष्टाचारलगायत विषयमा १३ बुँदे प्रस्ताव ल्याएको छु । लिखित मतको रूपमा पार्टीको दस्तावेजमा राख्नका लागि यो ल्याएको हुँ, उनले भने, बैठकको मुड हेर्‍यौं, बुझ्यौं त्यसैले मेरो मत दर्ज गराउँछु । मेरो मतका रूपमा पार्टीमा दर्ज गराउछु ।

भ्रष्टाचारका सन्दर्भमा सरकारले चालेका कदममा कांग्रेसले साथ दिनुपर्ने थापाको भनाइ थियो । उनले भने,‘भ्रष्टाचारको जात, लिंग र परिवार हुँदैन । केही कारणले कसैले छुट पनि पाउनुहुन्न । कसैले भारी पनि बोकाउनुहुन्न । कोही व्यक्तिलाई अनावश्यक लान्छना लगाउने कुरा बन्द हुनुपर्छ । कांग्रेसले सरकारले अगाडि बढाएका कुरामा साथ दिनुपर्छ । कांग्रेस भएका कारणले कसैले छुट पाउनुहुन्न । कांग्रेस भएकै कारणले भारी पनि बोक्नुहुन्न ।’

प्रतिक्रिया दिनुहोस्