
क्वार्ज क्रिस्टलबारे न्यायोचित निर्णय होओस
‘गोरखामा एक स्थानीयको घरबाट प्रहरीले जाँचबुझका निम्ति लिएको मणि पत्थरको अवलोकन । मैले त्रिविविका सम्बन्धित विषय विज्ञहरूबाट बुझेअनुसार यो अर्ध(बहुमूल्य पत्थर (क्वार्ज क्रिस्टल) हो ।
स्थानीय परिवारले पुस्तौंदेखि धार्मिक आस्थाको रूपमा पुज्दै आएको हुँदा वहाँहरूको चित्त बुझाएर यसलाई सार्वजनिक अवलोकनकानिम्ति गोरखा दरबार संग्रहालयमा राख्नु उपयुक्त हुन्छ ।
स्थानीय सरकारले ध्यान देओस्’, पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् । उनले मात्र होइन, अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको सो क्वार्ज क्रिस्टल अवलोकन गर्न धेरैजना पुग्छन् ।
भौतिक रुपमा यहाँ आइपुग्न नसक्नेहरु धेरैले टेलिफोनमार्फत जानकारी राख्ने गर्छन् । अपुष्ट भनाइ अनुसार यो ५० औँ करोड रुपैयाँसम्म पर्न सक्ने बहुमूल्य पत्थर हो । त्यसैले सबैको ध्यानाकर्षण हुनु अस्वभाविक होइन । यो गोरखा नगरपालिका ७ सतिपिपलस्थित राममाया शाहीको घरमा पुस्तौँपुस्तादेखि पूजाआजा गर्ने प्रयोजनका लागि राखिएको पत्थर हो । उनको परिबारले महत्वपूर्ण तिथि, चाडपर्वहरुमा यसको पूजा गर्ने गर्थे ।
यसलाई रातो, सेतो बस्त्र, बख्खु तथा चोयाको बाकसभित्र सुरक्षित राखिएको थियो त्यसैले कसैले नहेर्नू भन्ने आदेश थियो । तर राममायाका छोरा सुरेश शाहीले सबै बस्त्र हटाएर यसलाई नाङ्गो बनाए, फोटो खिचे, खोजतलास गर्दै व्यापारीहरुको संपर्कमा पुगे । त्यसपछि यो पत्थर र सो परिबारको दुर्दिन सुरु भयो ।
५० औँ लाखको मोलमोलाइ गर्न बारम्बार अपरिचित मान्छे आउन थालेपछि प्रहरीले यसलाई बरामद ग¥यो । परिबारकै असुरक्षा हुने भएकाले प्रहरीले बरामद गरेको जनाएको छ । अब यसको बास्तविकता पत्ता लगाउनका लागि खानी तथा भूगर्भ विभागको प्रयोगशालामा परीक्षणका लागि लगिन्छ । बास्तविकता पहिचान गरेपछि के गर्ने भन्ने अबको बाटो अन्यौल छ ।
धेरैको सुझाव यसलाई गोरखामै राख्नुपर्छ भन्ने छ । या संग्रहालय हुनसक्छ, वा गोरखा दरबार हुनसक्छ त्यहाँभित्र सुरक्षित रुपमा राख्नुपर्छ भन्ने नै धेरैको मत छ । त्यो भयो भने पुख्यौली सम्पत्तिका रुपमा मानिदै आएको सो परिबारको पनि चित्त बुझ्नेछ । न्यायपूर्ण निर्णय हुनेछ ।




