
प्रहरी कार्यालय गोरखामा सबैभन्दा धेरै आत्महत्या सम्बन्धी मुद्दा दर्ता
गोरखामा सबैभन्दा धेरै आत्माहत्या सम्बन्धी मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखामा गत आर्थिक बर्ष २०७९÷८० मा दर्ता भएकामध्ये सबैभन्दा धेरै आत्महत्या सम्बन्धी मुद्दा रहेका छन् ।
शुक्रवार पत्रकार सम्मेलन गर्दै कार्यालयले गत आव कुल ३ सय ९ वटा मुद्दा दर्ता भएको जनाएको छ । जसमध्ये आत्महत्याका ७१ वटा मुद्दा रहेको एसपी अनुपम श्रेष्ठले बताए । त्यस्तै कर्तव्य ज्यानसम्बन्धी चार, भवितव्य ज्यान सम्बन्धी ३१, सवारी ज्यान अन्तरगत ८ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै सवारीवाट भवितव्य ज्यान, विष खाएर आत्महत्या र बहुविवाह सम्बन्धी ५÷५ वटा मुद्दा दर्ता भएका छन् ।अभद्र व्यवहार सम्बन्धी ४३ वटा, सार्वजनिक शान्ति विरुद्धको ३९, जबरजस्ती करणी सम्बन्धी २० र दोहोरो नागरिकता सम्बन्धी १० वटा मुद्दा दर्ता भएको उनले जानकारी दिए ।
उनका अनुसार चोरी, लागुऔषध, हातहतियार तथा खरखजना सम्बन्धी ६÷६ वटा मुद्दा दर्ता भएका छन् । जबरजस्ती करणी उद्योगको ३, हाम फालेर आत्महत्या, जुवा र बालयौन दुरुपयोग सम्बन्धी २÷२ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ । दर्ता भएकामध्ये १ सय २६ वटा मुद्दा फर्छौट भइसकेको एसपी श्रेष्ठले बताए । गत आर्थिक बर्ष चार हजार ६० जनाले कार्यालयबाट सेवा लिएको उनले जानकारी दिए ।
कार्यालयको बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै एसपी श्रेष्ठले गत आव १६ सय ७४ वटा ठाडो उजुरी दर्ता भएको बताए । कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा धेरै गोरखा नगरपालिकाबाट ८ सय १३ वटा मुद्दा दर्ता भएको छ । पालुङटार नगरपालिकाबाट २ सय ३४, सहिदलखनबाट ७६, भिमसेनथापाबाट ४५, अजिरकोटबाट ६५, गण्डकीबाट ६१, सिरानचोकबाट १ सय १९, आरुघाटबाट १ सय ७१, बारपाक सुलिकोटबाट ६२, धार्चेबाट १९ र चुमनुब्रीबाट ९ वटा ठाडो उजुरी दर्ता भएको बताइएको छ । स्थानीय तहको न्यायिक समितिमा दर्ता हुनुपर्ने उजुरीसमेत प्रहरीमा आउने गरेको एसपी श्रेष्ठले बताए ।
गत आव जिल्लामा ४७ वटा विपदका घटना घटेको र त्यसबाट ३३ करोड ८५ हजार लागत बराबरको क्षति भएको प्रहरी कार्यालयले जनाएको छ । बाढीपहिरो, आगलागी, हावाहुरी, चट्याङ, कोभिड लगायतका कारण उक्त क्षति हुन गएको एसपी श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा श्रेष्ठले कार्यालयको सेवा प्रवाह, शान्ति सुरक्षाको वर्तमान अवस्था, अपराध नियन्त्रण, सडक सवारी व्यवस्थापन र सुरक्षाका चुनौतीका साथै भावि योजनाहरुका बारे सहजिकरण गरेका थिए ।
गुण्डागर्दी नियन्त्रण तर्फ आवश्यक सुरक्षा योजना बनाई कार्यान्वयन गरिएको एसपी श्रेष्ठले बताए । प्रविधिको प्रयोग गरि शान्ति सुरक्षा कायम गर्ने अधिकतम प्रयास भइरहेको उनको भनाइ छ । पालिकाहरुसँगको समन्वयमा जिल्लाको बिभिन्न संवेदनशील स्थानहरुमा १५७ वटा सिसिटिभी क्यामेरा जडान गरिएको उनले जानकारी दिए ।
दरवन्दी अनुसार जनशक्ति नहुनु, भौगोलिक बिकटता, उत्तरतर्फको लामो सिमाना, सीमा सुरक्षा पोष्टको अपर्याप्तता र स्रोतसाधन, प्रविधि एवं भौतिक संरचनाको अपर्याप्तता कार्यालयको चुनौती रहेको बताइएको छ ।




