
जिल्ला दररेटलाई पालना गर
गोरखामा यसबर्षको नयाँ दररेट निर्धारण भएको छ । जिल्ला दररेट निर्धारण समितिले लामो गृहकार्य गरेर तयार गरेको प्रस्तावित दररेट आइबार बसेको बैठकले अनुमोदन गरेको हो ।
नयाँ निर्धारित दररेट अनुसार दक्ष कामदारको ज्यालामा बृद्धि भएको छ । यसअघि दक्ष कामदारको दैनिक ज्यालादर एकहजार २१० रुपैया रहेकामा यसबर्ष ३० रुपैयाँ बढाइएको छ । अर्धदक्ष कामदारको दैनिक ज्यालामा पनि बढाएर नौसय ९० कायम गरिएको छ । अदक्ष कामदारको ८ सय ७५ रुपैया कायम गरिएको छ ।
यस्तै समितिले ढुवानी भाडा, निर्माण सामग्रीको मूल्य, दैनिक उपभोग्य बस्तुको मूल्य तथा बिभिन्न बिउ बिजनको पनि मूल्य निर्धारण गरेको छ ।
बर्षमा एकफेर यसरी दररेट निर्धारण गरेर बर्षभरि समान दररेटअनुसार काम गर्नु एउटा व्यवस्थित परिपाटी हो । तर यसमा नमिल्दो के छ भने, कतिपय पालिकाहरुले दुषित मनाशयले जिल्ला दररेटको बेवास्ता गरी भुक्तानी गरिरहेको पाइएको छ ।
त्यस्ता बिषयहरु महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाइदिन्छ । र जिल्ला दररेट भन्दा बढि भुक्तानी भएको जति असुल उपर गर्न सुझाव दिएको पाइन्छ ।
ज्यालामा पनि आफूअनुकूल हुनेगरी जिल्ला दररेट भन्दा घटि वा बढी बनाउने र अनुदानका लागि खरिद गरेका विभिन्न बिउ बिजनहरु पनि जिल्ला दररेट भन्दा बढाएर खरिद गरेको पाइन्छ ।
कतिपय सरकारी कार्यालयले नै पनि जिल्ला दररेटसंग नमिल्ने गरी बिल, भरपाई बनाएर भुक्तानी गरेको पाइन्छ । यस्तो हुनु मनासिब हुदैन ।
जिल्ला दररेटसंग नमिल्ने गरी भुक्तानी गर्दा बेरुजु आउँछ भन्ने जानकारी हुँदाहुदै पनि बर्सेनी यस्तै अभ्यास दोहो¥याउने गर्छन् । यसमा बद्नियत राखेको अनुमान गर्न जो कोहीलाई पनि गाह्रो हुदैन ।




