| सोमवार, कार्तिक २३, २०८३

अवार्डमा छनौट हुनुले गोरखा नगरपालिकालाई चुनौति थपियो

जब कोही पुरस्कृत, सम्मानित हुन्छ, तब खुशी हुन स्वभाविक हो । तर खुशीसंगै चुनौति पनि थपिएको हुन्छ । पुरस्कृत, सम्मानित हुँदा खुशीमा मात्रै सीमित भयो भने त्यो अधोगतितिर गयो भन्ने जाने हुन्छ । तर जसले त्यसलाई थप अगाडि जाने उर्जाका रुपमा प्रयोग गर्छ, तब उसको द्रुत गतिमा प्रगति निश्चित छ ।

गोरखा आधुनिक नेपाल निर्माणको जग हो । अढाइसय बर्षअघिदेखि चलेको शाह वंशीय राजतन्त्रको उद्गम हो । यहाँको यिनै महत्वका कारण गोरखा नगरपालिका हालै स्विस टुरिजम अवार्ड २०२३ का लागि छनौट भएको छ । ऐतिहासिक नगरी भएकाले गोरखा पर्यटनको सम्भावनायुक्त क्षेत्रका रुपमा अवार्डका लागि छनौट भएको हो । यहाँको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदा अतुलनीय छन् ।

यहाँको गोरखा दरबार देशभरका विद्यालयका विद्यार्थीका लागि शैक्षिक भ्रमण गर्ने केन्द्र हो । गोरखा संग्रहालय ऐतिहासिक र पुरातात्विक सम्पदाले झकिझकाउ थलो हो । न्याय नपाए गोरखा जानु खोज्न भन्ने उक्तिले प्रख्यात रामशाहको चौतारा, द्रव्य शाहले राज्यभिषेक गरेको चौतारा, प्रथम प्रधानमन्त्री भीमसेनथापाको स्मारक यहाँका प्रमुख पर्यटकीय केन्द्र हुन् । त्यस्तै अरु सहायक पर्यटकीय स्थलहरु पनि छँदैछन् ।

अब स्वीटजल्याण्डबाट पर्यटकीय स्थलका रुपमा छनौट भइसकेपछि यहाँ आउने पर्यटकलाई खिन्न हुने वातावरण बनाउनु भएन । यहाँ आएपछि हर्षविभोर भएर फर्कने वातावरण बनाउन गोरखा नगरपालिकालाई चुनौति छ । त्यसैले विभिन्न ठाउँमा पर्यटकीय पूर्वाधार बनाउनु जरुरी छ ।

गोरखा दरबार जाने बाटो स्तरीय बनाउनु पर्नेछ, साथै नयाँ पर्यटकीय गन्तव्य बनाउन पनि पहल गर्नुपर्छ । जिल्लाका प्राय भूभाग र छिमेकी जिल्लाहरु समेत देखिने उपल्लो कोटको थप वृहंगम विकास गर्नु आवश्यक छ ।
यी चुनौतिलाई गम्भीरता पूर्वक मनन गरी काम गरेमा पर्यटन व्यवसायका कारण गोरखाको दीगो विकास सम्भव छ ।

प्रतिक्रिया दिनुहोस्