| सोमवार, कार्तिक २३, २०८३

बर्खाका बेला विद्युत, टेलिफोन, इन्टरनेट, खानेपानी, सडक सेवा अवरुद्ध नहोओस

दैनिक १७, १८ घण्टासम्म लोडसेडिङ भोग्ने हामी नेपालीलाई जब पहिलो पटक कुलमान घिसिङ विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिईओ) नियुक्त भए, तब जादुगरी शैलीमा लोडसेडिङ अन्त्य गरे । उनको यो कामले आम नेपाली उनीप्रति कृतकृत भए । उनी नेशनल हिरोका रुपमा स्थापित भए । तर जब दोस्रो पटक सिईओ नियुक्त भए, पहिलो पटक जितेको नेपालीको मन त्यही तहमा जित्न सकेनन् ।

अहिले बेला, कुबेला झ्याप्प–झ्याप्प लाइन गइरहन्छ । यसबाट आजित भएका विद्युत उपभोक्ताहरु अहिले कुलमान घिसिङप्रति रुस्ट पनि देखिन्छन् । घिसिङले चाहेर लाइन झ्याप्पझ्याप्प गएको होइन । कुनै ठूलै प्राविधिक समस्या होला, जुन उनको तहबाट समाधान गर्न नसकेर यसो भएको हुनसक्छ । यद्यपि उनी पहिलो कार्यकाल जस्तो वाह, वाहका पात्र हुन सकेका छैनन् ।

त्यस्तै हिजोआज इन्टरनेट सेवा पनि बेला कुबेला अवरुद्ध हुने, स्लो हुने समस्याबाट अल्झेको छ । खानेपानी त झन सदाबहार समस्याग्रस्त भइहाल्यो । गोरखा बजारमा पानी वितरण गर्ने पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बर्खाका बेला पनि दैनिक नियमित पानी वितरण गर्न सकेको छैन ।

गोरखा पहाडी जिल्ला हो । यहाँ जताततै कच्ची सडक छ । केही घण्टा पानी पर्ने वित्तिकै जताततैको सडक पहिरिएर अस्तव्यस्त हुन्छ । यातायात अवरुद्ध हुन्छन् ।

यो बर्खाको बेला हो । बर्खाका बेला विभिन्न खालका विपद्का घटना हुनसक्छ । यतिबेला घट्न सक्ने सम्भावित घटनालाई न्युनिकरण गर्न तथा घटना भएमा त्यसलाई व्यवस्थापन गर्न यही सन्दर्भमा जिल्लाका सरोकारवालाहरुको बैठकमा विद्युत, टेलिफोन, सडक,खानेपानीहरु व्यवस्थित बनाउने बारेमा निर्णय भएको छ ।

निर्णय मात्र होइन, सम्बन्धित निकायले दत्तचित्त भएर त्यसलाई व्यवहारमा उतार्न पनि भरमग्दुर प्रयास गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्