| सोमवार, कार्तिक २३, २०८३

खर्च गर्ने क्षमता ह्रास हुदै

गोरखामा मात्र होइन, जहाँतहीँ हिजोआज कार्यालय प्रमुखहरुमा ‘कमाण्डिङ क्षमता’मा ह्रास आएको देखिन्छ । आफूभित्र निहित विशेष क्षमताको प्रयोग गरी आफ्नो कार्यअवधि, आफ्नो कार्यक्षेत्रमा विशेष काम गर्ने कार्यालय प्रमुखको आवश्यकता खड्किएको जो कोहीले महशुस गरेका छन् ।

यतिसम्म कि, कार्यालयहरुले आफ्नो क्षमता प्रयोग गरी बजेट तथा कार्यक्रमको दायरा बढाउन सकेको देखिदैन । आफ्नो खुबीले योजना तथा बजेट थप गर्नु त परको कुरा, मन्त्रालय, विभाग तथा योजना आयोगले विनियोजन गरी पठाएका कार्यक्रमको बजेट खर्च गर्ने क्षमतासमेत देखिदैन । त्यसैले बर्षेनी करोडौँ बजेट फ्रिज भएर गएका हुन्छन् । कैयौँ कार्यक्रम थालनी नै नभै रकम फ्रिज भएका हुन्छन् ।

आर्थिक बर्ष २०७९÷८० मा संघअन्तर्गत रहेका कार्यालयहरुले गोरखामा कुल बजेटको जम्मा ७९ प्रतिशत मात्र खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाका अनुसार संघ अन्तर्गतका कार्यालयहरुमा प्राप्त १४ अर्ब ४७ करोड ३३ लाख १३ हजार रकममध्य जम्मा ११ अर्ब ५५ करोड ६७ लाख ६६ हजार(७९.८५प्रतिशत) खर्च गरेको हो । जसमध्य चालुतर्फ ८ अर्ब ३ करोड ९ लाख(९५.३९ प्रतिशत) र पुँजीगततर्फ ३ अर्ब ५२ करोड ५७ लाख(५८.२४ प्रतिशत) बजेट खर्च भएको छ ।

यस्तै, प्रदेश सरकारअन्तरगत कूल बजेटको जम्मा ६७ प्रतिशत मात्र खर्च गरेका छन् । प्राप्त भएको कूल तीन अर्ब ७९ करोड ८८ लाख रुपैयाँमध्य कुल २ अर्ब ५६ करोड ३ लाख १५ हजार(६७.४०) प्रतिशत खर्च भएको थियो । जसमध्य चालुतर्फ ६५ करोड ८ लाख (७७.७६प्रतिशत) र पुँजीगततर्फ एक अर्ब ९० करोड ९४ लाख(६४.४७ प्रतिशत) खर्च भएको छ ।

चालुतर्फ खर्च गर्न कुनै मिहिनेत गर्नुपर्दैन । मिहिनेत पुँजीगत शीर्षकमा खर्च गर्न गर्नुपर्छ, तर त्यसमा जम्मा ५८ प्रतिशत मात्र खर्च हुनु दुखद छ । यसले खर्च गर्ने क्षमतामा ह्रास हुदै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्