
गोरखामा संघतर्फ ७९ प्रतिशत र प्रदेशतर्फ ६७ प्रतिशत मात्र बजेट खर्च
गोरखामा संघअन्तर्गत रहेका कार्यालयहरुले कुल बजेटको जम्मा ७९ प्रतिशत मात्र खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा संघ अन्तर्गतका सरकारी कार्यालयहरुमा प्राप्त १४ अर्ब ४७ करोड ३३ लाख १३ हजार रकममध्य जम्मा ११ अर्ब ५५ करोड ६७ लाख ६६ हजार(७९.८५प्रतिशत) खर्च गरेको हो ।
कोलेनिकाका अनुसार चालुतर्फ ८ अर्ब ३ करोड ९ लाख(९५.३९ प्रतिशत) र पुँजीगततर्फ ३ अर्ब ५२ करोड ५७ लाख(५८.२४ प्रतिशत) बजेट खर्च भएको कार्यालय प्रमुख महेन्द्र प्रसाद भण्डारीले बताए ।
संघ अन्तरगतका सरकारी कार्यालयहरुले असार महिनामा मात्रै १ अर्ब ६१ करोड ६३ लाख ३० हजार रुपैया खर्च गरेका छन् । जसमध्य चालुतर्फ ९८ करोड ७६ लाख ९४ हजार र पुँजिगततर्फ ६२ करोड ८६ लाख ३५ हजार खर्च गरेको उनले बताए ।
संघ अन्तरगत नै चालु वर्ष प्राप्त भएको ८८ करोड ३० लाख ८१ हजार राजस्व रकममध्ये एक अर्ब १६ करोड नौ लाख ८३ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
त्यस्तै, प्रदेश सरकारअन्तरगत जिल्लामा रहेका सरकारी कार्यालयहरुले कूल बजेटको जम्मा ६७ प्रतिशत मात्र खर्च गरेका छन् । चालु आर्थिक वर्ष प्रदेश सरकारबाट विभिन्न कार्यालयहरुमा कूल तीन अर्ब ७९ करोड ८८ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । त्यसमध्य कुल २ अर्ब ५६ करोड ३ लाख १५ हजार(६७.४०) प्रतिशत खर्च भएको थियो ।
जसमध्य चालुतर्फ ६५ करोड ८ लाख (७७.७६प्रतिशत) र पुँजीगततर्फ एक अर्ब ९० करोड ९४ लाख(६४.४७ प्रतिशत) खर्च भएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए ।
सो रकम मध्ये आर्थिक वर्षको अन्त्य अर्थात असार महिनामा मात्रै ९७ करोड ९९ लाख १७ हजार रुपैया खर्च गरेको कार्यालय प्रमुख भण्डारीले बताए । जसमध्य चालु तर्फ ११ करोड ४९ लाख २२ हजार र पुँजीगततर्फ ८६ करोड ४९ लाख ९५ हजार खर्च भएको छ ।
प्रदेशतर्फ चालु वर्ष राजस्वतर्फ प्राप्त भएको १२ करोड १९ लाख ५२ हजार रुपैयाँमध्ये १० करोड ११ लाख ६६ हजार रुपैया खर्च भएको कार्यालयले जनाएको छ ।
त्यस्तै, संघ तर्फका सरकारी कार्यालयबाट चालु आर्थिक वर्षमा ८८ करोड ३० लाख ८१ हजार रुपैया राजस्व संकलन भएको छ भने प्रदेश तर्फका सरकारी कार्यालयबाट चालु वर्ष १२ करोड १९ लाख ५२ हजार रुपैया राजस्व संकलन भएको छ ।




