
स्वरोजगारमुलक कार्यक्रमलाई बढवा दिऔँ
वैदेशिक रोजगारीमा जानेको लर्को जति बढ्छ, ठगीसम्बन्धी घटना बढ्ने सम्भावना पनि पक्कै बढ्छ । केही दिनअघि जिल्ला प्रहरी कार्यालयले वैदेशिक ठगी सम्बन्धी मुद्दाका केही आरोपीहरुलाई पक्राउ गरेको छ ।
कोसैले ब्रिटिश आमी, सिंगापुर पुलिस बनाइदिन्छु भन्दै लाखौं ठगी गरेका छन् भने कसैले वैदेशिक रोजगारीमा लगिदिने भन्दै सर्वसाधारण युवाहरुलाई ललाइफकाइ ठगी गरेको धेरै घटना छन् ।
ठगी भएकाहरु मध्य पनि कोही पिडितहरु न्याय माग्न प्रहरी, प्रशासनमा आइपुग्छन्, कोहीले भने सम्बन्ध बिग्रिएला भन्ने त्रासले प्रहरी प्रशासन नगुहार्ने गरेका पनि छन् । सम्बन्ध नबिग्रिए तैपनि तिरेको पैसा उठिहाल्छ कि भन्ने आशाले उजुर नगर्ने प्रचलन छ ।
प्रहरी प्रशासनलाई गुहारेका पनि केहीको नाम प्रहरीले सार्वजनिक गरेको छ भने झन फरार हुने सम्भावना भएकाले कतिपयको नाम सार्वजनिक गरेको छैन । यसको अर्थ वैदेशिक रोजगार ठगी गर्नेको संख्या उल्लेख्य छ ।
आफ्नै खेतबारीमा स्वरोजगार गरेर जीविका चलाउनेहरु कम छन् । केही लगानी गरेर व्यवसाय गर्न चाहने(सक्ने)हरु पनि कम छन् । स्वरोजगार गर्न चाहने, व्यवसाय गर्न चाहनेलाई सरसापट दिन पनि गाउँमा कोही तयार छ्रैनन् । तर वैदेशिक रोजगारीमा जाने हो भनेपछि गाउँघरका पैसा हुनेले ऋण दिन तयार हुन्छन् । यसले पनि विदेश जानतिर युवाहरुलाई प्रोत्साहन गरिरहेको छ, वा बाध्य बनाइरहेको छ ।
वैदेशिक रोजगारीमा नगई स्वदेशमै लगानी गरेर व्यवसाय गर्न चाहनेलाई प्रोत्साहन गर्न तीनै तहको सरकारले कार्यक्रम घोषणा गर्न सके युवाहरु विदेश पलायन हुन पनि कम हुन्थ्यो, ठगीका घटना पनि बढ्ने थिएन । अब भाषणमा मात्र होइन, युवालाई गाउँघरमै टिकाउन वा उद्यम गरेर स्वरोजगार बन्न, व्यवसाय गरेर रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउनु पर्छ । यसले समाजमा नकारात्मक गतिविधि कम हुन्छ, समाज माथि उठ्ने अबसर प्राप्त हुन्छ ।




