| सोमवार, कार्तिक २३, २०८३

बुटार पुल चाँडो बनोस्

पप्पु कन्स्ट्रक्शनले १० बर्षदेखि अलपत्र पारेको बुटार पुल निर्माणको काम अब अघि बढ्ने भएको छ । ११ किलो छेपेटार बारपाक सडक योजना कार्यालयले सो पुल निर्माण गर्न पप्पु कन्स्ट्रक्शनसंग ठेक्का रद्द गरेर नयाँ ठेक्का आव्हान गरेको छ ।
कार्यालयले ३१ करोड ६३ लाख ९७ हजार नौ सय अनुमानित लागतमा पुल निर्माणको ठेक्का आव्हान गरेको हो । एकसय ५१ मिटर लम्बाइको स्टील ट्रस्ट कम्प्रिस्ट्रेस कङ्क्रिटको पुल निर्माण गर्न ठेक्का आव्हान गरेको हो ।

सो पुल निर्माण भएपछि गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिकाका दर्जनौं गाउँका बासिन्दा लाभान्वित हुनेछन् । साथै पृथ्वीराजमार्गको चुमखोलाबाट मुग्लिन, आँबुखैरेनीको घुमाउरो बाटोको बिकल्पमा मकैसिङ, घैरुङ, नाम्जुङ, बुंकोट हुँदै गोरखा सदरमुकामसम्म आउन सकिने छ ।

यसअघि २०७१ असार २९ गते सो ठाउँमा पुल निर्माण गर्न पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पुलको सिलान्यास गरेका थिए । १७ करोड ४६ लाखमा पुल निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्शनले हात पारेको थियो । सो कम्पनीले दुबैतर्फ पुलको जीप बनाएर बाँकी काम अलपत्र छाडेको थियो । सम्झौता अनुसार पुल निर्माण २०७४ पुस २९ गते सक्नुपथ्र्यो । निर्माण सुरु भएको नौ वर्षमा पुलको प्रगति जम्मा ११ प्रतिशत मात्रै भएको थियो । त्यसपछि ठेकेदार सम्पर्कमा नआएपछि अहिले सो ठेक्का रद्ध गरी नयाँ ठेक्का आव्हान गरिएको हो ।

अबको १२० दिनमा ठेक्का प्रक्रिया पूरा हुनेछ र निर्माण कम्पनी छनौट भई उसलाई साइट दिने काम हुनेछ । त्यसपछि सो कम्पनीले छिटोभन्दा छिटो निर्माणको काम अघि बढाओस् । कार्यालयले पनि लामो समयसम्म अलपत्र भएको सो काम सम्पन्न गर्न चासो राखेर काम गराओस् । लाभान्वित क्षेत्रका बासिन्दाको सपना पूरा होओस् ।

प्रतिक्रिया दिनुहोस्