
विकास निर्माणमा शून्य प्रगति दुखद
गोरखाका सबै पालिकाहरुले दर्जनौँ विकास निर्माणको काममा शून्य प्रगति गरेका छन् । आवश्यकताको अध्ययन नगरी योजना छनौट गरिएकाले र अनुमोदन भएको कार्यक्रमलाई तीब्र रुपमा कार्यान्वयन गर्न नसक्दा ११ वटै पालिकाले करोडौँका योजनाहरु कामै नगरी रकम निस्कृय गरेका हुन् ।
तोकिएको सफलता हाँसिल गरी पालिकाले सतप्रतिशत प्रगति हासिल गर्नुपर्ने हो । तर गोरखाका पालिकाहरुले धेरै योजना तथा कार्यक्रमहरुमा शून्य प्रतिशत प्रगति हाँसिल गर्नु लज्जास्पद छ । कार्यान्वयन गर्न सकिने योजनाहरु मात्र छनौट गरी पास गर्नुपर्ने थियो । लक्ष्यअनुसार प्रगति नहुने हो भने पालिकाको नीति तथा कार्यक्रमको कुनै औचित्य रहँदैन ।
त्यसैले पालिकाले योजना छनौटमा नै ध्यान पु¥याउनु पर्ने हुन्छ । तर गोरखाका पालिकाहरुले भने बर्षेनी कत्तिपनि कार्यान्वयन गर्न नसक्ने दर्जनौँ योजना तथा कार्यक्रम छनौट गर्ने गरेको पाइएको छ ।
बिगत बर्षहरुमा पनि दर्जनौँ योजनाहरु कार्यान्वयन नै हुन नसकी सबै रकम फिर्ता जान्थ्यो । त्यस्तो प्रवृत्तिमा सुधार हुन नसक्दा अहिले पनि योजना कार्यान्वयन हुन नसक्ने क्रम दोहोरिरहेको छ ।
महालेखा परीक्षकको कार्यालयले यसबर्ष सार्वजनिक गरेको दुई बर्षअघिको कार्यक्रमको कार्यप्रगति प्रतिवेदन अनुसार गोरखा नगरपालिकाले २४ वटा, पालुङटार नगरपालिकाका ३५ वटा र बारपाक सुलीकोट गाउँपालिकाले २९ वटा योजनामा शून्य प्रगति हात पारेका थिए ।
त्यस्तै सहिदलखन गाउँपालिकाले १४ वटा, गण्डकी गाउँपालिकाले २२ वटा, धार्चे गाउँपालिकाले १५ वटा, चुमनुब्री गाउँपालिकाले २२ वटा, भीमसेन थापाको ३७ वटा, अजीरकोट गाउँपालिकाको २८ वटा र आरुघाट गाउँपालिकाले २३ वटा कार्यक्रममा शून्य प्रतिशत प्रगति गरेको छ ।
कार्य प्रगति हुन नसक्नुमा जनप्रतिनि र कर्मचारी दुवैथरीको बराबर दोष हुन्छ । स्थानीयबासी, जसले योजना छनौट गर्दा पनि गम्भीर भएर सोचेनन्, छनौट भइसकेपछि पनि कार्यान्वयन गर्नेबेला विवाद गरे वा कार्यान्वय गर्न चासो राखेनन् त्यसका कारण पनि कार्यप्रगति हुन नसकेको हो ।




