| सोमवार, कार्तिक २३, २०८३

तथ्यांक अद्यावधिकलाई चुस्त बनाऔँ

नेपालीमा एउटा उखान छ, ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।’ यो उखान गोरखाका पालिकाहरुको बजेट तथा कार्यक्रम कार्यान्वयनमा चरितार्थ भएको छ ।

महालेखा नियन्त्रकको ५८ औँ, ५९ औँ प्रतिवेदनले त्यसभन्दा अघिका प्रतिवेदनले पनि पालिकाहरुलाई धेरै सुझाव दिए । तर पालिकाहरुले त्यसलाई वास्ता गरेनन्, आफ्नै धुन, आफ्नै लय, आफ्नै गति, आफ्नै कार्यशैलीमा तल्लीन रहे, सच्चिएनन् । त्यसकै नतिजास्वरुप ६० औँ प्रतिवेदनले पनि धेरै १४३ जनाको मृतकको नाममा १७ लाख ९२ हजार ८६० रुपैयाँ वृद्धभत्ता निकासा भएको लज्जास्पद तथ्यांक सार्वजनिक गरेको छ । साथै महालेखाले पालिकाका जनप्रतिनिधि तथा कर्मचारीले कार्यशैलीलाई सच्याउनु पर्ने औंल्याएको छ ।

एकदुईबाहेक गोरखाका सबै पालिकाले मृत्यू भइसकेका वृद्धवृद्धाको नाममा पनि वृद्धभत्ता निकासा गरेको देखिएको छ । यसलाई इंगित गर्दै महालेखा नियन्त्रकको ६० औँ प्रतिवेदनमा यस्ता प्रकृतिका गल्ती नदोहो¥याउन सुझाव दिएको छ ।
यसअघि पनि सुझाव नदिएको होइन, तर पालिकाहरुले सच्चिएनन् वा गल्ती सुधार गरेनन्, अनि बिगतमा झैँ यसपटक पनि यही शीर्षकमा बजेट बेरुजु देखियो ।

गोरखा नगरपालिकाले ३४ जना, पालुङटार नगरपालिकाले २६ जना, सिरानचोक गाउँपालिकाले १२, अजीरकोटले पाँचजना मृतकको नाममा वृद्धभत्ता निकासा गरे । त्यस्तै धार्चेले चारजना, आरुघाटले १३, भीमसेन थापाले १४, सहिदलखनले १२ र गण्डकी गाउँपालिकाले २३ जना मृतकको नाममा बजेट निकासा गरे ।

पालिकाहरु स्रोत, साधन, शक्तिले सम्पन्न नभए पनि अधिकारले सम्पन्न छन् । उनीहरुले तथ्यांकलाई चुस्त, दुरुस्त राख्ने मेकानिज्मलाई सशक्तिकरण गर्न सक्नुपथ्र्यो, तन, मन, धन लगाएर काम गर्ने हो भने पालिका तहलाई सोचेजस्तो गरी विकास गर्न कठिन छैन । यत्ति हो कि, जनप्रतिनिधिहरुलाई लप्पनछप्पन होइन, काम गर्ने दृढ इच्छाशक्तिको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्