
गोरखाका पालिकाहरुद्वारा मरिसकेका १४३ जनाको वृद्धभत्ता निकासा
सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यू भएमा उक्त लाभग्राहीलाई भत्ता पाउनेको सूचीबाट हटाई मृत्यू भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था छ । तर गोरखाका नौवटा पालिकाले मृत्यू भएका एकसय ४३ जनाको खातामा सामाजिक सुरक्षाभत्ता निकासा गरेको पाइएको छ ।
आर्थिक बर्ष २०७८÷०७९ मा मृत्यू भइसकेका व्यक्तिको नाममा पालिकाहरुले १७ लाख ९२ हजार ८६० रुपैयाँ सामाजिक सुरक्षा भत्ता निकासा गरेको महालेखा नियन्त्रकको कार्यालयले फेला पारेको हो । महालेखाले सो रकम सम्बन्धित पक्षबाट असुल गरी यथासीघ्र संघीय सञ्चित कोषमा दाखिला गर्न निर्देशन गरेको छ ।
सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा मृत्यू भएकाको नाममा निकासा गरेको सामाजिक सुरक्षा भत्ता सम्बन्धितहरुबाट असुल उपर गरी संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था छ ।
महालेखाको सो प्रतिवेदन अनुसार गोरखा नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ मा मृत्यू भएका ३४ जनाको चारलाख १८ हजार रुपैयाँ निकासा गरेको थियो । त्यस्तै पालुङ्टार नगरपालिकाले मृत्यू भएका २६ जनाको सामाजिक सुरक्षा भत्ताबापत तीनलाख १६ हजार १३१ रुपैयाँ निकासा गरेको थियो ।
त्यस्तै सोही बर्ष भीमसेनथापा गाउँपालिकाले मृत्यू भएका १४ जनाको तीनलाख ६८ हजार २६८ रुपैयाँ तथा आरुघाट गाउँपालिकाले १३ जना मृत्यू भएकाको नाममा दुईलाख ५० हजार छसय रुपैयाँ निकासा गरेको थियो । गण्डकी गाउँपालिकाले पनि मृत्यू भइसकेका २३ जनाको नाममा दुईलाख ५२ हजार, सहिद लखन गाउँपालिकाले मृत्यू भइसकेका १२ जनाको नाममा एकलाख ३१ हजार र सिरानचोक गाउँपालिकाले १२ जना मृत्यू भइसकेकाको नाममा ९९ सय हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता निकासा गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
अजीरकोट गाउँपालिकाले पाँच जनाको नाममा ३९ हजार र धार्चेले चार जनाको नाममा १९ हजार रुपैयाँ सामाजिक सुरक्षाभत्ता निकासा गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
उनीहरुबाट सो रकम असुल उपर गरी संघीय सञ्चित कोषमा दाखिला गर्न महालेखा नियन्त्रकको कार्यालयले निर्देशन गरेको छ ।
मृत्यू भएका व्यक्तिहरुको मृत्यूदर्ता यथा समयमा नभएका कारण यस्तो समस्या आएको आरुघाट गाउँपालिकाका सूचना अधिकारी विवेक खनालले जानकारी दिए । ‘को कसको मृत्यू भयो भनेर समयमै मृत्यू दर्ता भएको हुँदैन ।
वैंकिङ सिस्टमअनुसार उहाँहरुको खातामा रकम निकासा हुन्छ’, खनाल भन्छन्, ‘तर वडा कार्यालयको सिफारिसमा मात्र खाताबाट रकम झिक्न मिल्ने व्यवस्था भएकाले व्यक्तिको हातमा चाहिँ पुग्दैन ।’ मृत्यूदर्ता समयमै गर्ने व्यवस्था भए यस्तो समस्या नआउने उनको भनाइ छ ।




