
सतिपिपलबाट ५४ किलोको क्वार्र्ज क्रिष्टल बरामद
प्रहरीले गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक घरबाट ५४ किलोको क्वार्ज क्रिष्टल बरामद गरेको छ । गरगहना बनाउन प्रयोग हुने महँगो धातु अवैध रुपमा किनबेच हुन लागेको सूचना पाएपछि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बिहिबार बिहान प्रहरी निरीक्षक रवीन्द्र अधिकारी नेतृत्वको टोली सो घरमा पुगेर उक्त ढुंगा बरामद गरेको हो । ‘त्यस घरमा लाखौं मूल्य पर्ने क्वार्ज क्रिस्टल किनबेचको चर्चा चलिरहेको बिषयमा एक–डेढ महिनादेखि हामीलाई सूचना थियो,’ एसपी अनुपम श्रेष्ठले भने, ‘पश्चिम नेपालतिरबाट मान्छेहरु हेर्न आउने जाने गर्थे । बिहिबार पनि उनीहरु आएर महँगो मूल्यमा खरिद गरेर लैजान लागेको भन्ने सूचना आयो । अनि बरामद गरेर ल्याएका हौँ ।’ प्रारम्भिक अनुसन्धानबाट उक्त ढुंगा क्वार्ज क्रिष्टल भन्ने खुल्न आएको र थप परीक्षणको तयारी भइरहेको उनले बताए ।
‘ढुंगा पारदर्शी छ, लाइट बाल्दा प्रकाश वारपार हुन्छ, हामीले भिडियोकल गरेर विज्ञलाई देखाउँदा क्वार्ज क्रिष्टल भन्नुभएको छ । गोरखा बजारका सुनारहरुलाई देखाउँदा गरगहना बनाउन प्रयोग हुने जरीहिरा भनेका छन् । आधिकारिक रुपमा विज्ञद्वारा परीक्षण गर्न भने बाँकी’, एसपी श्रेष्ठले भने ।
परीक्षणका लागि सबैभन्दा पहिले पुरातत्व विभाग पठाउने उनले जानकारी दिए । परीक्षणको नजिता अनुसार थप अनुसन्धान अघि बढाउने बताइएको छ । किनबेचको बिषयमा भने आवश्यक अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए ।




