
अनुमति प्राप्त ठाउँलाई केन्द्र मानी चलोस् एम्बुलेन्स
‘गोरखाको नाममा एम्बुलेन्स लिएर धादिङ र चितवनमा संचालन गरिरहेकोमा जिल्ला प्रशासन कार्यालयले सेवा समितिलाई अनुमतिको अनुसरण गर्नेगरी सेवा संचालन गर्न निर्देशन गरेको छ ।
अब कच्ची बाटोको मोटर भाडा पक्की सडक निर्माण पछि यथावत देखिएको छ यो तत्काल परिमार्जन गर्न जनदबाव आरम्भ होस् ।’ यो प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईको सामाजिक सञ्जाल(फेसबुक)को स्टाटस हो । जिल्लामा सञ्चालित एम्बुलेन्सको बेथितिबारे जनप्रतिनिधिले पनि गहिरो चासो राख्ने रहेछन् भन्ने एउटा नमूना हो यो ।
अगाडिबाट एम्बुलेन्स आयो भने राजाको गाडीले पनि बाटो छोडिदिनुपर्छ भन्ने कहावत थियो(राजाको सवारी निर्देशिका बारे बास्तविकता जानकारी भएन) । सत्यता जे भए पनि यसले एम्बुलेन्सको महत्व दर्शाउँछ ।
त्यसैले त एम्बुलेन्स प्रयोजनका लागि ल्याउने सवारी साधनलाई सरकारले कर छुट दिने गर्छ । त्यसैले त पैसा हुँदैमा वा पैसा हुनेले आफूखुशी एम्बुलेन्स खरिद गर्न पाउँदैनन् । त्यसैले त एम्बुलेन्स सञ्चालनलाई व्यवस्थित बनाउनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरको समिति रहेको हुन्छ ।
झट्ट हेर्दा ‘एम्बुलेन्स’ एक साधारण सवारी साधन मात्र हो, तर यसको महत्व अन्य गाडीसँग तुलना गर्न मिल्दैन । यो धेरै महत्वपूर्ण हुन्छ ।
तर दुखद बिषय यो छ कि, एम्बुलेन्सको महत्वका बिषयमा एम्बुलेन्स सञ्चालन गर्ने समितिले बुझ्दैन । अरुले नबुझ्नु भन्दा एम्बुलेन्स सञ्चालक समिति स्वयंले नबुझ्नु बढि दुखद कुरा हो ।
त्यही नबुझेर त एम्बुलेन्स सञ्चालक समितिले आफूले नचलाएर एम्बुलेन्स ठेक्कामा लगाउँछ । त्यही नबुझेर त एम्बुलेन्स सञ्चालक समितिले अनुमति प्राप्त वा निर्दिष्ट ठाउँमा नचलाई अन्यत्रलाई केन्द्र मानी एम्बुलेन्स चलाउँछ । त्यही महत्व नबुझेर त एम्बुलेन्सलाई सञ्चालक समितिको नीजि वा उसको कार्यालयको गाडी झैँ पदाधिकारीले निजी कामका लागि प्रयोग गर्छन् ।
एम्बुलेन्स सञ्चालनलाई अस्तव्यस्त बनाएर आम जनमानसका दृष्टिमा एम्बुलेन्सलाई महत्वहिन बनाउने काम संचालक समितिले नबनाओस् । यसको गरिमालाई उच्च राख्न निर्दिष्ट नीति नियममा रहेर सञ्चालन होओस् ।




