
पालिकाका नीति कार्यक्रम कतिपय व्यवहारिक, कतिपय हावादारी गफ
असार १० गतेभित्र देशभरका ७५३ वटै पालिकाहरुले नीति तथा कार्यक्रम ल्याउनु पर्ने व्यवस्थाअनुसार गोरखाका ११ वटै पालिकाहरुले नीति तथा कार्यक्रम ल्याएका छन् ।
बिगत बर्षमा गण्डकी र सिरानचोक दुईवटा पालिकाले समयमै नीति तथा कार्यक्रम ल्याउन नसकेर धेरै ढिला गरी ल्याएका थिए । तर यसपटक सबै पालिकाले यथासमयमै जिम्मेवारी पूरा गरेका छन् ।
पालिकाका नीति तथा कार्यक्रम अध्ययन गर्दा कतिपय व्यवहारिकै लागे पनि कतिपय हावादारी गफ लाग्ने खालका छन् ।
कुनै कार्यक्रम हेर्दा स्थानीय सरकार छ र हाम्रो आड भरोसा छ भन्ने अनुभूति हुन्छ । तर कतिपय भने लोकप्रियताका लागि मात्र ल्याइएका छन्, जुन कार्यान्वयन गर्न त परको कुरा कार्यान्वयनको नजिक पुग्न पनि सकिने अबस्थाका छैनन् ।
चुमनुब्री गाउँपालिकाले गत हिउँदे सभामा कैयौं व्यवहारिक र आवश्यक प्रथाजनित कानूनलाई लालमोहर लगाएको छ । त्यस्तै स्याग्या विधेयक पनि अनुमोदन गरेको थियो । यो एक उत्कृष्ठ मौलिक निर्णय हो ।
चेपाङ समुदायको बसोबास रहेको गण्डकी गाउँपालिकाले चेपाङ बालबालिकालाई उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्तिको कार्यक्रम ल्याएको थियो । चिउरी परम्परार्सग चेपाङ समुदायलाई जोड्न चिउरी जगेर्ना कार्यक्रम पनि ल्याएको थियो । यी पनि केही मौलिक कार्यक्रम हुन् ।
उद्गमस्थल गोरखा रहेको बराम समुदायलाई प्रवद्र्धन गर्न भीमसेनथापा तथा बारपाक सुलीकोट गाउँपालिकाले ल्याएका कार्यक्रम पनि महत्वपूर्ण छन् ।
तर कतिपय पालिकाले भने सस्तो लोकप्रियताका लागि उँडन्ते कार्यक्रम ल्याएका छन् । आन्तरिक आम्दानी वृद्धि गरी पालिकालाई आत्मनिर्भर बनाउनतर्फ ध्यान नदिएका त्यस्ता पालिकाले वितरणमुखी कार्यक्रम गरेर बजेट सक्ने कार्यक्रम मात्र घोषणा गरेका छन् ।
आफ्नै पालिकाको नीति तथा कार्यक्रम बनाउन आफ्नो दिमाग खर्च नगरी भौगोलिक, सामाजिक बस्तुस्थिति नबुझेका इतरजिल्लाबासी विज्ञ प्रयोग गरेर त्यस्ता फजुल कार्यक्रम ल्याएका हुन् ।




