
गोरखामा संघसंस्थाको अस्वस्थ प्रतिस्पर्धाले मेला महोत्सवमा सधै किचलो
जिल्लाका संघसंस्था बीच अस्वस्थ प्रतिस्पर्धा हुँदा हरमटारी खेलमैदानमा हुने मेला महोत्सव सधै विवादमा मुछिने गरेको छ । यसबर्ष पनि चाडवाडलाई लक्षित गरी सञ्चालन गर्न लागिएको महोत्सवलाई लिएर असार महिनादेखि नै विवाद सुरु भइसक्यो ।
गोरखा चेम्वर अफ कमर्स र राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति गोरखाले छुट्टाछुट्टै आयोजना गर्न लागेको महोत्सवको मिति र स्थान भने एउटै परेको छ । असोज २३ गतेदेखि दुवैले हरमटारी खेलमैदानमा महोत्सव गर्ने जनाएका छन् ।
केही दिन अघि पत्रकार सम्मेलन गरेर चेम्वरले असोज २३ देखि कात्तिक ३ गतेसम्म दशै सस्तो बजार तथा रमाइलो मेला गर्ने जनाएको हो । महोत्सव संचालनका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिइसकिएको अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए । अनुमतिका लागि नगरपालिकालार्ई पनि पत्राचार गरिसकेको उनले जानकारी दिए ।
यता असोज २३ देखि कात्तिक ४ गतेसम्म प्रथम लोक दोहोरी महोत्सव गर्न लागेको लोकदोहोरी प्रतिष्ठानले सम्बन्धित वडा र नगरपालिकासँग अनुमति लिइसकेको जनाएको छ । ‘महोत्सव गर्ने भनेर हामीले दुई बर्षअघि नै निर्णय गरिसकेका थियौ,’ प्रतिष्ठानका जिल्ला अध्यक्ष हरिराम परियारले भने ‘नगरपालिका र वडासँग अनुमति पनि लिइसक्यौ, खेलकुदको आएपछि प्रशासनमा जाने तयारी गरिरहेका थियौ तर अहिले चेम्वरले भाँजो हालेको छ ।’ कानुनी प्रक्रियामा आफूहरु अगाडी रहेको भन्दै उनले महोेत्सव गरिछाड्ने बताएका छन् ।
‘हामी कलाकारको सहयोगमा यतिका बर्ष उहाहरुले महोत्सव गर्दै आउनुभयो तर हामी कलाकारले यसबर्ष महोत्सव गर्न खोज्दा भाँजो हाल्नुभयो, तर उहाँहरुको सहयोग पाउछौ भन्ने आशा छ,’ उनले भने ।
यता गोरखा चेम्वर अफ कमर्सका अध्यक्ष श्रेष्ठले उपभोक्तालाई सुपथ मूल्यमा सामान उपलब्ध गराउन खोज्दा बिथोल्ने काम भएको बताए । ‘एउटै थलोमा चाडबाड बिशेष सामान सस्तोमा उपलब्ध गराउने हाम्रो लक्ष्य हो तर बिभिन्न संघसंस्थाहरु राजनीतिक पावर देखाउँदै महोत्सव बिथोल्न खोेज्ने गरेका छन्, यो राम्रो काम होइन, हामी यसको बिरोध गर्छाै,’ उनले भने । प्रतिष्ठानलाई नगरपालिकाले सहमति मात्र दिएको तर अनुमति नदिएको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले यस बिषयमा नगरपालिकाले विवेक र सुझबुझका साथ निर्णय गर्नुपर्ने बताए । ‘यो नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने भएकाले उसले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘केही समस्या आयो भने बल्ल प्रशासनले एक्सन लिन्छ ।
’ नगर प्रमुख कृष्ण रानासँग यसबारेमा प्रतिक्रिया लिन धेरै प्रयास गर्दा सम्पर्क हुन सकेन । चाडपर्वमा हुने मेला महोत्सव रोक्न माग गर्दै फेन्सी व्यवसायी संघ गोरखाले नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको छ । दशै तिहारमा हुने महोत्सवले व्यापारमा असर पर्ने भन्दै रोक्न उनीहरुको आग्रह छ ।




