
बजेट तथा कार्यक्रम, कतै खातैखात, कतै पुर्पुरामा हात
राणा शासन छँदा राणा खानदानले जथाभावी राज्य स्रोतको दोहन गरे, अब राणा शासन सकियो । अब राज्य स्रोत परिचालन गर्ने पालो हाम्रो भनेर पञ्चायती शासकहरुले राज्य स्रोतको दोहन गरे । पञ्चायती व्यवस्था फालेपछि बहुदलवादी शक्तिहरुले हिजोका दिनमा पञ्चायती शासकले मात्र राज्यस्रोतमा रजगज गरे, अब दोहन गर्ने पालो हाम्रो भनेर राज्यस्रोत दोहन गरे ।
त्यही परम्परा कायम छ, एउटा पार्टीको सरकार छँदा तिमीले मात्र रजाइँ गर्ने ? हामीचाहिँ नगर्ने भन्ने ठानेर आफू शासनसत्तामा भएका बेला मनमौजी खर्च गर्ने, राज्यका लागि सिन्को नभाँच्ने परिपाटी बस्यो ।
अहिले विकास बजेट तथा कार्यक्रम बाँडफाँटको अभ्यास हेर्दा त्यही देखिन्छ । शासनसत्तामा पहुँच नहुनेले जति माग गर्दा पनि कुनै विकास योजना पर्दैन, तर पहुँच भएको नेता ठाउँमा छ भने एउटै योजनाका लागि विभिन्न शीर्षक बनाएर बजेट आएको देखिन्छ ।
गोरखाको एउटै सडकमा धेरै शीर्षक बनाएर बजेट विनियोजन गरेको उदाहरण यसलाई पुष्टि गर्न काफी छ । पालुङ्टार नगरपालिका वडा नं. १ सातदोबाटोदेखि वडा नं. ६ गाईखुर जोड्ने सडकलाई गतबर्ष पाँचवटा र यसबर्ष तीन वटा फरक शीर्षक बनाएर बजेट बिनियोजन गरिएको छ ।
एउटै सडकमा धेरै शीर्षकमा बजेट बाँडफाँट गरी डुप्लिकेशन गर्न नहुने सरकारी मापदण्ड छ । यहाँ भने बर्षेनी एउटै सडकमा धेरै शीर्षक बनाएर बजेट विनियोजन गर्ने गरिएको छ । विशेष गरी पालुङटार नगरपालिका वडा नं. १ देखि वडा नं. १० हुदै वडा नं. ६ सम्म जोड्ने सडकलाई काठमाडौँ बस्ने नेताको चलखेलमा बर्षेनी चार वा पाँच शीर्षकमा बजेट पर्ने गरेको छ ।
त्यस्तै पन्थडिही कटहरे हर्मी शाहिलटार सडकका लागि आउँदो आर्थिक बर्ष कार्यान्वयन गर्नेगरी १० लाख रुपैयाँ बजेट तथा कार्यक्रम परेको छ । सोही सडकको २० किलोमिटर खण्ड भारतको एक्जिम वैँकको ८० करोड ऋण सहयोगमा कालोपत्रे गर्न केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सिलान्यास समेत गरिसकेका छन् ।
कसैलाई खातैखात, कसैलाई पुर्पुरामा हात हुनुहुदैन ।




