| सोमवार, कार्तिक २३, २०८३

कारबाहीको चेतावनी नपाई काम नगर्ने नै हो ठेकेदारसाप् ?

गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री हरिशरण आचार्य अचेल ‘क्रोनिक’ भएका विकास निर्माणका काम लिएर जिल्ला प्रशासन कार्यालय धाउने गर्छन् । नुवाँकोट, धादिङ, गोरखा, लम्जुङ चार जिल्लामध्य सबैभन्दा क्रोनिक बनेर रहेको खोप्लाङ खण्डको मध्यपहाडी लोकमार्गको कामलाई गतिदिन केही दिनअघि जिल्ला प्रशासन कार्यालय आए ।

त्यतिबेलासम्म सम्पर्कमा नआएर बेपत्ता भएका हिमडुङ, प्यासिफिक जेभी अन्तर्गत यहाँको कामको जिम्मा लिएको प्यासिफिक कम्पनीका प्रोपाइटर ठाकुर कँडेल जिल्ला प्रशासन कार्यालय र मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय ठाँटीपोखरीको चेतावनीपछि सम्पर्कमा आए ।

यो बर्खामा गाडी चल्न सक्नेगरी समस्याग्रस्त ठाउँमा मर्मतसम्भार गर्ने प्रतिवद्धता जनाएका छन् । असार मसान्त नजिकिँदै गर्दा बिल भुक्तानीको आशाले पनि हुनसक्छ, अहिले केही ठाउँमा ग्राभेल ओछ्याउने काम सुरु गरेको छ ।

फेरि उनै आचार्य स्थानीयबासीलाई नेतृत्व गरी गत सोमबार जिल्ला प्रशासन कार्यालय आए । त्यहाँ उनले पालुङ्टार नगरपालिकाको राधाकृष्ण मन्दिर, कालामाटा, पौवाटार, बिरुवाटार, मिलनचोक, मझुवा सडक र गोरखा नगरपालिकाको नारेश्वर पँणेनीचौतारा, निवेल ताकुकोट सडक स्तरोन्नतीको काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही गर्न माग गरे । जिल्ला प्रशासन कार्यालयले ती दुवै आयोजनाका ठेकेदारलाई सम्पर्क गरेर बोलाए । तत्काल काम सुचारु नगरे कारबाही गर्न आफू बाध्य हुने चेतावनी दिए ।

अबको केही दिनभित्रै निर्माणको कामको थालनी गर्ने ठेकेदारहरुले प्रतिवद्धता गरेका छन् ।
सम्हालेको काम स्वस्फूर्त गर्नुपर्ने ठेकेदारहरुलाई आफ्नो जिम्मेवारी सम्झाउन पनि अतिरिक्त बल प्रयोग गर्नुपर्ने भएको छ । यदि यसै हो भने अलपत्र पारेर राखेका कैयौँ योजना छन् । ती सबै ठाउँका योजना सुचारु गराउन प्रमुख जिल्ला अधिकारीको प्रयोग गर्नुपनि सम्भव होइन । तर प्रजिअको पक्राउ गरेर थुन्ने चेतावनी नपाई काम पनि नगर्ने भएपछि यसो गर्नुपर्ने पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्