| सोमवार, कार्तिक २३, २०८३

संस्कृति र संस्कार जोगाउन गोरखा सामुदायिक सिकाइ केन्द्रको प्रयास

अहिलेका नयाँ पुस्ताले घरबाहिरका दैनिक उपभोग्य सामग्री पनि चिन्दैनन् । मोबाइल मात्र खेलाइरहने उनीहरुलाई दूध गाईले दिने हो कि भैँसीले दिने हो ? चुल्हो भनेको के हो, ओदान, चिम्टा, ढुंग्रो भनेको के हो जस्ता सामग्री पनि नचिन्ने अबस्थामा छन् ।

हाम्रा परम्परा कस्ता छन्, हाम्रा संस्कृति के कस्ता छन् ? यी सब नयाँ पुस्ताका लागि अपरिचित छन् । त्यसैले गोरखा सामुदायिक सिकाइ केन्द्रले यहाँका मगर समुदायको सांस्कृतिक सम्पदा जोगाउने प्रयास गरेको छ । संस्कार र संस्कृति लोप हुँदै गएको चुनौतिपूर्ण अवस्थामा सिकाइ केन्द्रको यो प्रयास कोशेढुंगा सावित हुने आशा, विश्वास लिन सकिन्छ ।

सिकाइ केन्द्रले सांस्कृतिक सम्पदा प्रदर्शनी तथा प्रस्तुति कार्यक्रम सम्पन्न गरेको थियो । गोरखा नगरपालिकाको सहयोगमा गोरखा नगरपालिका वडा नं ८ आमडाँडामा मगर समुदायको साँस्कृतिक सम्पदा प्रदर्शन गरेको हो ।

साँस्कृतिक सम्पदालाई आयआर्जनसँग जोड्न सरोकारवालाहरु बीच खोज तथा अध्ययन कार्यक्रममा मगर समुदायका मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा खोज तथा पहिचान गरी सूचिकरण गरिएको थियो । सिकाइ केन्द्रले पुराना, ऐतिहासिक, धार्मिक महत्वका विभिन्न सामग्री लगायत विभिन्न भाँडाकुँडाहरू खोज अनुसन्धान गरी प्रदर्शनी गरेको थियो । करीव २ हप्तासम्म चलेको तालिमपछि प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा मगर समुदायको साँस्कृतिक पक्षहरु, नाच, गीतको लय कसरी मिलाउने, बाजा कसरी बजाउने, गीत कसरी गाउने, पहिरन कसरी लगाउनेजस्ता कुराहरु पनि सिकाएको थियो । त्यस्तै, जडीबुटीबाट मर्चा कसरी बनाउने, भनेर पनि सिकाइएको थियो ।

आइतबार भएको कार्यक्रममा मगर समुदायका परम्परागत सामग्रीहरुका साथ मगर समुदायहरू आफ्ना पोशाक र गरगहन सुसज्जित भएर सहभागी भएका थिए । सबैले व्यक्तिगत, संस्थागत रुपमा यस्तै संस्कार, संस्कृति जोगाउने गतिविधि गर्न सके हाम्रो संस्कृतिको संरक्षण हुने छ ।

प्रतिक्रिया दिनुहोस्