
गोरखामा आधारभूत अस्पताल निर्माणको काम कछुवा गतिमा अघि बढ्दै
जिल्लाका स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माणको कामले गति लिन सकेको छैन । नागरिकलाई चिकित्सक सहितको आधारभूत स्वास्थ्य सेवा दिने उदेश्यले तीन बर्षअघिस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत अस्पतालको योजना अघि सारेको थियो । सोही योजना अन्तरगत जिल्लाका स्थानीय तहमा कम्तिमा ५ देखि १५ वेडसम्मको अस्पताल निर्माण हुनुपर्ने हो ।
जिल्लाका केही पालिकामा अस्पताल भवन निर्माण कार्य जारी भएपनि केहीले जग्गा प्राप्ती गरेर मात्र राखेका छन् । सिरानचोक गाउँपालिकाले ५ वेडको जौवारी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ वेडको अस्पतालमा स्तरोन्नती गर्ने जनाएको छ । तर स्तरोन्नतीको काम भने शुरु गरेको छैन । प्रक्रिया भने अघि बढीसकेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए ।
सिर्दिवासमा रहेको स्वास्थ्य चौकीलाई ५ वेडमा स्तरोन्नती गर्ने योजना बनाएको चुमनुव्री गाउँपालिकाले प्रक्रिया नै अघि बढाएको छैन । तयारीको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले बताए ।
भीमसेन थापा र आरुघाट गाउँपालिको जग्गा प्राप्त गरेपनि संरचना निर्माणको काम अघि बढाएको छैन । अश्राङमा १० वेडको अस्पताल बनाउने बताएको भीमसेन थापा गाउँपालिकाले डिपिआर तयार भएर ठेक्का प्रक्रिया अघि बढेको जनाएको छ । कुल १२ रोपनी जग्गामा अस्पताल बन्ने पालिका अध्यक्ष लोक प्रसाद बञ्जराले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्र आरुचनौटेलाई १५ वेडमा स्तरोन्नती गर्ने योजना बनाएको आरुघाट गाउँपालिकाले आरुटारमा जग्गा प्राप्त गरेको जनाएको छ । हाल स्वास्थ्य केन्द्र रहेको ठाउँ बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने भएकाले आरुटारमा जग्गा खोजी गरिएको पालिका अध्यक्ष राजु गुरुङले बताए । तर भवन निर्माण प्रक्रिया भने शुरु हुन सकेको छैन ।
मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ वेडको आधारभूत अस्पतालमा स्तरोन्नती गर्ने योजना बनाएको गण्डकी गाउँपालिकाले भवनको डिपिआर तयार गरेर मन्त्रालय पठाएको जनाएको छ ।
धार्चे गाउँपालिकामा भने अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पालिका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार खोर्लावेशीमा १५ वेडको अस्पताल निर्माण भइरहेको छ ।
तिनमानेमा १५ बेडको अस्पताल भवन निर्माण कार्य भइरहेको शहिदलखन गाउँपालिकाले जनाएको छ । अजिरकोट गाउँपालिकाको भच्चेक स्वास्थ्य चौकीलाई १५ वेडको आधारभूत अस्पतालमा स्तरोन्नती गर्नभवन निर्माण कार्य भइरहेको छ ।
बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्वर ४ हुडीफाँटमा १५ शैयाको अस्पताल भवन निर्माणको काम जारी छ । पालुङटार नगरपालिकामा यसअघि नै १५ वेडको आँपपिपल अस्पताल संचालनमा छ । सोही अस्पताललाई ५० बेडमा स्तरोन्नती गर्नका लागी प्रदेश सरकारबाट योजना समेत परिसकेको छ । गोरखा नगरपालिकामा ५० वेडको अस्पताल भएकाले अर्काे बनाउन आवश्यक नरहेको बताइएको छ ।




