
अनुत्पादक क्षेत्रमा फजुल खर्च नगरौँ
हालै महालेखा नियन्त्रकको कार्यालयले औँल्याएको फजुल खर्चको शीर्षक हेर्दा उदेक लाग्दो छ । जिल्लाका स्थानीय तहहरुले गरेका खर्चलाई केलाउने हो भने अनुत्पादक क्षेत्रमा बढी लगानी भएको देखिन्छ । भ्यू टावर, शालिक, गेट जस्ता संरचना निर्माणलाई नै पालिकाहरुले ठुलै उपलब्धी ठानिरहेका छन् ।
अधिकतम प्रतिफलमुखी क्षेत्रमा लगानी गर्नुको सट्टा फजुल खर्चमै उनीहरु रमाइरहेका छन् । यस्ता क्षेत्रमा गरिएको लगानी वालुवामा पानी सरह हो भन्ने जवसम्म ज्ञान हुदैन तवसम्म पालिकाको आर्थिक समृद्धिको पाइला अघि बढ्दैन । यस्ता अनुत्पादन क्षेत्रमा गरिएको फजुल खर्च नियन्त्रणमा पालिका आफै सजग हुनुपर्छ ।
केही समयअघि भ्यू टावर निर्माणमा पालिका बिच अस्वस्थ्य प्रतिस्पर्धा नै भयो । अग्ला अग्ला पहाड हुने पहाडी क्षेत्रमा भ्यू टावरको औचित्य कति हुन्छ त्यो टावर निर्माण गर्नेलाई नै थाहा होला । अनावश्यक रुपमा गेट निर्माण कार्यलाई पनि बिभिन्न पालिकाले महत्वका साथ बजेट विनियोजन गरे । त्यसको पनि औचित्यमाथि प्रश्न चिन्ह खडा भएकै छ ।
गमलादेखि शालिक राख्नेसम्मका योजनाहरुमा गरिएको खर्चको उपलब्धी के भन्ने प्रश्नको जवाफ सम्बन्धित निकायलाई नै सायदै थाहा नहोला । आवश्यकताको आधारभन्दा पनि लहडै लडहमा अरुको देखासिकी गर्ने प्रवृति हावी भइदिँदा समस्या निम्तिएको छ । पर्यटन प्रवद्र्धनको संज्ञा दिदै निर्माण भएका ती संरचनाहरुबाट पर्यटन प्रवद्र्धनको अपेक्षा गर्नु मुर्खता हो । पर्यटन प्रवद्र्धनका लागी ठोस नीति र योजना आवश्यक हुन्छ ।
अनुत्पादक क्षेत्रभन्दा प्रतिफलमुखी क्षेत्रमा लगानी गर्न सके ठुलै उपलब्धी हासिल गर्न सकिन्छ । बिशेष रणनीति र योजना बनाएर बजेटको सही सदुपयोग गर्न सक्नुपर्छ । यस्ता अनुत्पादक क्षेत्रमा गरिने फजुल खर्च नियन्त्रणमा सम्बन्धित निकायको ध्यान जाओस् ।




