| शनिबार, अशोज १६, २०८३

सदरमुकामका सात विद्यालयका ७८ विद्यार्थीलाई गडहेड्सद्वारा सहयोग


गोरखा जिल्ला शिक्षा तथा स्वास्थ्य विकास परियोजना(गडहेड्स)ले गोरखा सदरमुकामका सात विद्यालयमा अध्ययनरत ७८ जना विद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामग्री प्रदान गरेको छ ।


सोमबार बालमन्दिर माविमा आयोजित एक समारोहका बीच सो संस्थाले बालमन्दिर मावि, महेन्द्रज्योति मावि, शक्ति मावि, रत्नलक्ष्मी मावि, नवज्योति मावि, गोरखकाली आधारभूत र मनकामना बहिरा माविका ७८ जना विद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामग्री वितरण गरेको हो ।


सहयोगी सामग्रीमा पोशाक, जुत्ता, मोजा, झोला, कापी, कलम, ज्यामिती बाकसलगायतका सामग्री रहेका छन् । साथै महेन्द्रज्योति माविमा कक्षा ११ र १२ मा अध्ययनरत चार जनालाई सात हजार रुपैयाँका दरले नगद पनि वितरण गरिएको संस्थाका अध्यक्ष लक्ष्मणबाबु आचार्यले जानकारी दिए ।


अब निकट भविष्यमै दुल्लभ मावि घ्याम्पेशाल, शान्ति मावि बगुवा, द्रव्यशाह क्याम्पस, हिमालय मावि बारपाक, ज्ञानज्योति मावि लप्सीबोट र संसारी महेन्द्र मावि नयाँसाँगुका विद्यार्थीलाई पनि सहयोगी सामग्री वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष आचार्यले बताए । सो कार्यक्रम अन्तर्गत द्रव्यशाह क्याम्पसमा पढ्ने पाँचजनालाई १२ हजार रुपैयाँका दरले नगद बितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्