
अविरल बर्षाले बारपाक–लाप्राक सडकखण्डमा पाँच ठाउँमा पहिरो, आवतजावत ठप्प
आइतबार रातीको अविरल बर्षाले बारपाक र लाप्राक बीचको सडकखण्ड अबरुद्ध भएको छ । कतै सडक भासिएको, कतै माथिबाट पहिरो आएर सडकमा थुप्रिएको धार्चे गाउँपालिकाका पूर्व अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
विभिन्न पाँच ठाउँमा पहिरो झरेर सडक अवरुद्ध गरेको स्थानीय सन्तोष गुरुङले जानकारी दिए । ‘बारपाकदेखि मम्चेडाँडासम्म पाँच ठाउँमा सडक अबरुद्ध भएको छ’, गुरुङले भने, ‘सडक अवरुद्ध भएपछि धार्चे गाउँपालिका प्रवेश गर्ने ढोकै बन्द भयो ।’
धार्चेका बासिन्दा, धार्चेका लागि खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान ओसार्ने सवारी साधन, पर्यटक सबै रोकिएका उनले बताए ।
स्तरोन्नति भइरहेको सो सडकको ठेकेदारले यथासीघ्र एक्साभेटर लगाएर बाटो सफा गरिदिनु पर्ने उनको सुझाव छ । त्यसका लागि जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा गाउँपालिका कार्यालयले चासो दिनु पर्ने उनले जोड दिए ।




