| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा लम्पी स्किन रोगले ५८ वटा पशुचौपाया मरे, आठ हजारभन्दा बढीमा संक्रमण

पशुचौपायामा देखिने ‘लम्पी स्किन’ (छालामा हुने गिर्खे रोग) गोरखामा अनियन्त्रित रुपमा फैलिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको वुधवारसम्मको तथ्याङ्क अनुसार ८ हजारभन्दा बढी गाईभैँसी तथा राँगा र गोरुमा लम्पी स्किन रोग देखा परेको छ । जसमध्ये ५८ वटा मरिसकेका छन् ।

सबैभन्दा बढी शहिदलखन गाउँपालिकामा ४१ सय गार्ईगोरु र १३ वटा भैसीमा यो रोग देखिएको कार्यालयका लालमणी अर्यालले बताए । गण्डकी गाउँपालिकामा २८ सय गाईगोरु र १८ वटा भैसी संक्रमित भएको उनले जानकारी दिए । तीमध्ये १३ वटा गार्ईगोरु मरिसकेका छन् । बारपाक सुलिकोट गाउँपालिकामा संक्रमित हुने पशुचौपायको संख्या ६ सय नाघेको छ । करिव ६ सय गार्ईगोरु र २५ वटा भैसीमा संक्रमण देखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार संक्रमितमध्ये सात वटा गाईगोरु मरिसकेका छन् ।

सिरानचोक गाउँपालिका १ सय ६५ गार्ईगोरु र ३५ वटा भैसी संक्रमित छन् । जसमध्ये दुई वटा मरिसके । त्यस्तै ६९ वटा गार्ईगोरु संक्रमित भएको अजिरकोट गाउँपालिकामा तीन वटा मरिसकेका छन् ।

लम्पी स्किन रोगकै कारण धार्चे गाउँपालिकाका १३ वटा र आरुघाट गाउँपालिकाका ३ वटा गार्ईगोरु मरेको अर्यालले बताए । उनका अनुसार धार्चेमा हालसम्म ९० वटा गाईगोरुमा संक्रमण देखिएको छ भने आरुघाटमा ४९ वटा गाईगोरु र दुई वटा भैसीमा संक्रमण देखिएको छ ।

त्यस्तै गोरखा नगरपालिकाका ६५, पालुङटार नगरपालिकाका ४५ र भीमसेन थापा गाउँपालिकाका २५ वटा गाईगोरुमा संक्रमण देखिएको छ । चुमनुव्री गाउँपालिकामा भने हालसम्म संक्रमण फेला नपरेको कार्यालयका सूचना अधिकारी अर्यालले जानकारी दिए ।

रोग नियन्त्रणका लागि केही स्थानीय तहले खोप अभियान चलाएका छन् । गोरखा नगरपालिकाका केही वडामा खोप संचालन भएको छ भने सिरानचोक गाउँपालिकाले खोप खरिदको प्रक्रिया अघि बढाएको छ । बजेट अभावका कारण खोप लगाउन नसकिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले जनाएको छ । ‘हामीले निसंक्रमण गर्ने औषधी उपचार त गरिरहेका छौ, तर खोप खरिद गर्न बजेट नभएकाले पशुपंक्षी तथा मत्स्य बिकास निर्देशनालय पोखरासँग आवश्यक समन्वय गरिरहेका छौ’, अर्यालले भने ।

उनका अनुसार लम्पी स्किन पोक्स भाइरसका कारण लाग्ने एक प्रकारको सरुवा रोग हो । यो रोग लागेमा पशुचौपायाको शरिरमा फोका जस्तो डावर आउने, ज्वरो हिडडुल गर्न नसक्ने, ज्वरो आउने, झोक्राएर बस्ने जस्ता लक्षण देखिन्छन् । केही बर्षअघि पनि गोरखामा लम्पी स्किन रोग देखिएको थियो । तर महामारीकै रुपमा यति धेरै संख्यामा देखिएको यो पहिलो पटक भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्