| मङ्लबार, कार्तिक २४, २०८३

उद्यमी व्यवसायीलाई दिइएको लेबलिङ र प्याकेजिङ तालिम सकियो

लघु घरेलु तथा साना उद्यमी व्यवसायीलाई लक्षित गरी संचालन भएको लेबलिङ, प्याकेजिङ तथा बजारीकरण तालिम सम्पन्न भएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र काठमाडौँ र गोरखा उद्योग वाणिज्य संघ गोरखाको संयुक्त आयोजनामा भएको तालिम बिहीवार सम्पन्न भएको हो ।

दुई दिनसम्म संचालन भएको तालिममा जिल्लाका विभिन्न स्थानमा लघु उद्यम व्यवसाय गर्दै आएका ३६ जनाको सहभागिता रहेको गोरखा उवासंघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताए । उनीहरुलाई उद्योगमा उत्पादन गरिने सामग्रीको प्याकेजिङ र लेबलिङ गर्ने तरिका सिकाइएको उनले जानकारी दिए । उद्योगबाट उत्पादित बस्तुमा उत्पादन मिति, त्यसमा मिसाइएका पदार्थहरु, कम्पनीको नाम, लेबलिङ सम्बन्धी कानूनी व्यवस्था, सरकारले निर्दिष्ट गरेको नियमहरुका बारेमा पनि प्रशिक्षण दिइएको बताइएको छ ।

त्यस्तै, उद्योगमा उत्पादन गरिएका सामग्रीलाई बजारीकरण गर्नका लागि पहिला बजारको बस्तुस्थितिको बारेमा बुझेर मात्र उत्पादन गर्न तथा उपभोक्ताको मनोभावना अनुसार आवश्यक बस्तुहरुको उत्पादनमा जोड दिन र उद्योगमा उत्पादित सामग्रीलाई बजारीकरण गर्ने तरिकाका बारेमा जानकारी दिएको उनले बताए ।

यस प्रकारका तालिमबाट स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरुको बजारीकरण गर्न सहज हुने, स्थानीय उत्पादनको प्रवद्र्धन हुने र बजारमा देखिएका बेतिथिहरुको पनि अन्य हुने उनले बताए । उपभोक्ताको स्वास्थ्यप्रति उद्योगी व्यवसायी जिम्मेवार बन्नका लागि पनि यो कार्यक्रमले धेरै सहयोग पुग्ने बताइएको छ । साथै यसले कोसेली घरलाई प्रवद्र्धन गर्न समेत सहयोग पुग्ने उनको भनाइ छ ।

तालिममा लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, त्रिपुरेश्वर काठमाडौ, खाद्य गुणस्तर विभाग दमौली, पर्यटन तथा घरेलु उद्योग कार्यालय गोरखाका प्रशिक्षकहरुबाट प्रशिक्षण दिएका थिए ।

तालिममा लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, खाद्य गुणस्तर विभाग दमौली, पर्यटन तथा घरेलु उद्योग कार्यालय गोरखाका प्रतिनिधिहरुले सहजिकरण गरेका थिए । तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्