| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका तीन पालिका पूर्ण खोप सुनिश्चितता घोषणा

जिल्लाका तीन पालिका पूर्णखोप सुनिश्चिचता तथा दिगोपना पालिका घोषणा भएका छन् । धार्चे, शहिदलखन र बारपाक सुलिकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

पालिकाभित्रका १५ महिनाभित्रका बालबालिकाहरुमा लगाउनुपर्ने सबै खोप लगाएको सुनिश्चितता भएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । अन्य पालिकामा पनि घोषणाको तयारी भइरहेको कार्यालयका नानीबाबु दानीले बताए ।

१५ महिना भित्रका बालबालिकाले बिभिन्न समयमा गरी १३ वटा रोग विरुद्धको खोप लगाउनु पर्ने सरकारी मापदण्ड छ । वडाभित्र लक्षित समूहका सबै बालबालिकाले खोप पाएपछि आवश्यक अनुगमन गरेर वडा खोप समन्वय समितिले पालिकामा प्रतिवेदन बुझाउँछ । प्रतिवेदन प्राप्त भएपछि पालिकाको खोप समन्वय समितिले अनुगमन गरेर जिल्ला खोप समन्वय समितिलाई प्रतिवेदन बुझाउँछ । प्रतिवेदन प्राप्त भएपछि जिल्ला खोप समन्वय समितिले आवश्यक अनुगमन गरी पूर्ण खोपसुनिश्चितता पालिका घोषणा गर्ने व्यवस्था छ ।

सोही प्रक्रिया पछ्याउँदै हालसालै तीन वटा पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको दानीले जानकारी दिए । बाँकी पालिकामा भने जिल्ला खोप समन्वय समितिले अनुगमन गरिरहेको उनको भनाइ छ ।

धार्चे भित्रका दुई सय ८४ जना बालबालिकालाई सबै प्रकारका खोप लगाइएको प्रमाणित भएसँगै विहिबार पुर्णखोप पालिका घोषणा गरिएको पालिकाका स्वास्थ्य सहसंयोजक केशवराज गुरुङले बताए ।

पुर्णखोप पालिका घोषणा कार्यत्रमा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापामगर, पालिका अध्यक्ष लक्ष्मण गुरुङ, पालिकाका उपाध्यक्ष सुनिला गुरुङ, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख याम प्रसाद शर्मा, पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनार, पालिका र वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतका स्थानीयहरुको सहभागिता रहेको पालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्