| सोमवार, कार्तिक २३, २०८३

सौरपानीमा चोर, लुटेरा पक्राउ परेको खबर चाँडो आओस्

उहिले–उहिले चाडबाडका बेला बडेबडेमाको बाकस, भारीका गुण्डा बोकाएर लाहुरे गाउँ आउँथे । बुझेको तलब पठाउने माध्यम थिएन । बर्षभरिको कमाइ बोकेर आउँदा डाँकाहरुले गौडो बथान्छन्, लुट्छन्, आइपरे मान्छे पनि काट्छन्, मार्छन् भन्ने कहावत थियो ।

परिवर्तित समयसंगै चोर, डाँका, गुण्डा, पाकेटमारहरुको चोर्ने, लुट्ने शैली पनि परिवर्तन भयो । अचेल वैँकको सफ्टवेयर ह्याक गरेर लुट्छन्, व्यक्तिको पनि एकाउण्ट ह्याक गरेर पैसा लुट्छन्, पासवर्ड ह्याक गरेर चोर्छन् भनेर टिप्पणी गर्ने गरिन्थ्यो । तर गोरखाको सौरपानीको घटनाले यो टिप्पणीबारे पुनर्विचार गर्नुपर्ने बनाएको छ ।

सौरपानीमा बिगत एकबर्ष यता चोरी तथा लुटपाटका घटनाहरु घटिरहेका छन् । कसैका नाक, कान, घाँटीका गरगहना लुछ्ने, कसैका पैसा लुट्ने, कसैका भाँडाकुँडा चोर्ने गतिविधि भएका छन् । कहिलेकहीँ चोर र सर्वसाधारण बीच भिडन्त पनि भएका छन् ।

राती ढोकाको चुकुल खोल्ने, घरको विजुलीबत्ती निभाउने, ढोका ढक्ढक् गर्न जाने जस्ता गतिविधि भएका छन् । बाक्लै यस्ता घटना घटाउने धेरै टाढाका नभएर आसपासकै हुनसक्ने सम्भावना धेरै छ । पानी तान्ने मोटर फेला पारे त्यही चोर्ने, तामाका भाँडाकुँडा भेटे त्यही झ्याप पार्ने, जे फेला पा¥यो, त्यही लटपट्याउने खालका चोर, लुटेरा टाढाका हुदैनन् ।
केही समय प्रहरी खट्यो भने तिनीहरुको तीनपुस्ते फेला पार्न कठिन छैन ।

चोर, लुटेराको गतिविधिका कारण गाउँले त्रासमा छन् । कतिपय बसाइँ सर्न थालेका पनि छन् ।
पछिल्लो केहीदिन यता सादा पोशाकका प्रहरी खटाएको, चोरको समूह पत्ता लगाउने धेरै नजिक पुगिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको पुनरावृत्ति बढ्न थालेपछि अहिले प्रहरी संवेदनशील बनेको छ । छिट्टै कार्यप्रगतिको नतिजा सुन्न, देख्न पाइयोस् ।

प्रतिक्रिया दिनुहोस्