
नेपाल एकीकरण अभियानमा मुस्लिम समुदायको योगदानको खोजीको खाँचो
प्रदेश नं. २ का पूर्व प्रदेश प्रमुख डाक्टर राजेश अहिराज पदमा बहाल रहँदा गोरखा भ्रमणमा आए । गोरखा दरबारको भ्रमण सकेर गोरखा संग्रहालय अवलोकन गरे । त्यहाँ उनले संग्रहालय प्रमुख नवराज अधिकारीलाई केही सुझाव दिएका थिए ।
नेपाल एकीकरणमा तराईबासीको पनि भूमिका छ । विशेषगरी मिश्र समुदायको भूमिकाका बारेमा खोजी हुनुपर्छ ।
संग्रहालयमा उनीहरुको योगदान जनाउने केही प्रदर्शनी डबली राखिनु पर्छ । त्यस्तै नेपाल एकीकरणमा मुस्लिम समुदायको पनि ठूलो योगदान छ । तसर्थ उनीहरुको योगदानको यथार्थता खोजी हुनुपर्छ र मुस्लिम समुदायको पहिचान जनिने गरी संग्रहालयमा स्थान पाउनु पर्छ ।
उनी भूपू प्रदेश प्रमुख भइसकेपछिको अर्को गोरखा भ्रमणका क्रममा तराईमा पनि गोरखा संग्रहालयको शाखाका रुपमा ‘गोरखा संग्रहालय’ स्थापना गर्न माग गरे । संग्रहालय निर्माणका लागि आफू जग्गा दान गर्न तयार रहेको बारे लिखित प्रतिवद्धता गोरखा संग्रहालयमा पेश गरेर फर्केका थिए । यो फरक प्रसंग हो ।
जे होस् नेपाल एकीकरणका क्रममा मुस्लिम समुदायबाट पनि ठूलो योगदान छ । पृथ्वीनारायण शाहले वि.सं. १७९९ मा नुवाकोट आक्रमण असफल भएपछि सैनिक सुदुढीकरणका लागि वि.सं. १८०० मा बनारस गई हातहतियार बनाउनका लागि तीनजना मुस्लिम ल्याएका थिए । लखनउबाट मुस्लिम समुदायका सेख जब्बर, भेखासी र ममताकीको गरी तीनजना नेपाल ल्याएका थिए ।
गोरखाका सैनिकलाई उनीहरुले नै हातहतियार बनाउने र युद्ध कला सिकाएका थिए । त्यसपछि वि.सं. १८०१ मा नुवाकोट आक्रमण गरी विजय प्राप्त गरेको र अन्य राज्यमा पनि विजय प्राप्त गर्दै गएको इतिहास छ । यस बिषयमा धेरै सोध, खोज हुनुपर्छ ।
त्यस्तै, वि.सं. १८४५ मा नेपाल र तिब्बत युद्ध हुँदा नेपालको तर्फबाट सैनिक अधिकृतका रुपमा ममताकी(मोहम्मत नकी) रहेको समेत इतिहासमा उल्लेख रहेको छ । यी इतिहासको सघन खोजी गरी सो समुदायलाई पनि यथोचित स्थान दिनुपर्छ ।




