
भच्चेकमा वृहत स्वास्थ्य शिविर सुरु
गोरखाको अजिरकोट गाउँपालिका वडा नं ३ भच्चेकमा वृहत स्वास्थ्य शिविर सुरु भएको छ । नेपाली सेनाको श्री पश्चिम पृतना हेडक्वाटर पोखराको योजना र निर्देशन, नम्वर ३ बाहिनी अड्डा खैरेनीटारको संयोजकत्व, रिपुमर्दन गण गोरखाको समन्वय र व्यवस्थापन एवं अजिरकोट गाउँपालिकाको संयुक्त आयोजनामा वृहत स्वास्थ्य शिविर सुरु भएको हो ।
शिविरको पहिलो दिन वडा नं ३ भच्चेक आसपासका इलाकामा बसोबास गर्ने विपन्न समुदायका नागरिक, वृद्धवृद्धा एवं बालबालिकाहरुलाई लक्षित गरी हाडजोर्नी, स्त्री रोग, चर्म रोग, नाक, कान र घाँटी, आँखा, जनरल ओपिडि तथा अन्य विविध रोग सम्बन्धी समस्या भएका व्यक्तिको स्वास्थ्य परिक्षण गरिएको रिपुमर्दन गणका गणपती हेम बिष्टले बताए । स्वास्थ्य शिविरमा भच्चेक, लप्सीबोट र काफलडांडामा अध्ययनरत बिद्यार्थी, शिक्षक तथा स्थानीय गरी करिब चारसय जनालाई सहभागिता गराई विविध सचेतनामुलक कार्यक्रम समेत संचालन गरिएको छ ।
कार्यक्रमकै अवसरमा भच्चेक बजारबाट काफलडांडा हुंदै लम्जुङ्ग जिल्ला जोड्ने बाटोको स्तरोन्नतिको लागि नेपाली सेना (श्री रिपुमर्दन गण) ले आफ्नो नाममा रहेको जग्गा अजिरकोट गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
गाउँपालिका वडा नं ३ मा पर्ने ५३ रोपनीे जग्गामध्ये सडक विस्तारको लागि आवश्यक भच्चेक बजारबाट काफलडांडा जाने संगम स्थलबाट करिब दुई सय मिटर लम्बाइको ५ आना २ दाम जग्गा पालिकालाई हस्तान्तरण गरिएको हो । नेपाली सेना नं. ३ बाहिनीपति सहायक रथी गौरव कुमार केसीद्वारा अजिरकोट गाँउपालिका अध्यक्ष दिपक देवकोटालाई जग्गा हस्तान्तरण गरिएको हो ।
भच्चेक बजारबाट काफलडांडा हुंदै लम्जुङ्ग जिल्ला जोड्ने उक्त सडक खण्ड स्तरोन्नती गरी सवारी आवागमन सुचारु भएको खण्डमा स्थानीयलाई सहज हुने र आर्थिक रुपमा समेत टेवा पुग्ने भएको जग्गा हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ ।




